कपिलवस्तु १४ मंसिर । कपिलवस्तुको बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा हुने १४ औं कपिलवस्तु महोत्सवको सुरक्षालाई प्रभावकारी बनाउन महोत्सव स्थलमा ड्रोन क्यामेराबाट सुरक्षा स्थिति अवलोकन गरिने भएको छ । सुरक्षा लाई विशेष महत्व दिएर महोत्सव क्षेत्रमा ड्रोन क्यामेराबाट सुरक्षा निगरानी राखिने शान्ति सुरक्षा तथा स्वयम सेवक परिचालन संयोजक राजन आलेले बताए । महोत्सव यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म बुद्ध रंगाशालमा हुने छ ।महोत्सवमा हुन सक्ने हुलदंगालाई लक्षित गरि ड्रोन क्यामेरा प्रयोगमा ल्याइने आलेले बताए । ड्रोनको प्रयोगले कदम कदाचित चारनम्बर क्षेत्रमा कुनै त्यस्तो घटना भएमा पनि तत्काल सुरक्षा निकायको भौतिक उपस्थिती हुन नसक्दा समेत निगरानी गर्न सकिने छ। महोत्सवमा करिब १ सय जना स्वयम् सेवक परिचालन गरिने र महोत्सव स्थलमा विगतमा निरन्तरता दिइएको करिब ३५ ससिटिभी क्यामेरालाई समेत निरन्तता दिइने आलेले बताए ।
महोत्सवको सचिवालयमा नियन्त्रण कक्ष रहनेगरि महोत्सवको सुरक्षा अवस्था निगरानी गर्न ड्रोन परिचालन गरिने आलेले बताए ।१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।
१४ मंसिर २०८०, बिहिबार
प्रतिक्रिया