नेपालगन्ज २० मङ्सिर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । बुधवार नेपालगन्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश प्रहरी अस्पतालको पनि स्तरोन्नति गरिने बताउनुभएको हो ।
उहाँले बिरामीको चाप र सेवा हेर्दा प्रहरी अस्पताललाई ५० शय्याको बनाउन आवश्यक देखिएको जनाउँदै प्रक्रिया पुरा गरेर ५० शय्याको स्वीकृति प्रदान गरिने बताउनुभयो । १५ शय्याको सो अस्पताल अहिलेका लागि निकै सानो र कम क्षमताको रहेकोले अस्पताललाई आवश्यक पर्ने पूर्वाधारसँगै जनशक्ति र उपकरण थप गरेर अस्पतालको स्तरोन्नति गरिने मुख्यमन्त्री चौधरीले बताउनुभयो
लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले अस्पतालको गतिविधि र समस्याहरुका बारेमा जानकारी गराउँदै पूर्वाधार र जनशक्तिको अभावले समस्या रहेको बताउनुभयो । उहाँले लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका प्रहरी, प्रहरी परिवार र पूर्व प्रहरी तथा उनका परिवारका बिरामीलाई सेवा दिँदै आएको यो अस्पताललाई तत्काल ५० शय्याको बनाउनुपर्ने माग गर्नुभयो
२० मंसिर २०८०, बुधबार
प्रतिक्रिया