गुल्मी २० मंसिर ।पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको अत्यन्तै ठूलो विश्वास भएको बताउनुभएको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।अध्यक्ष ओलीले देशको कुन ठाउँमा के समस्या छ, जनताको समस्या के छन्, जनताका मागहरु सम्बोधन र विकासको कामका लागि जनताका सुझावहरु संकलन गर्न संकल्प यात्रा तय गरिएको बताउनुभयो ।सरकारको तर्फबाट भुकम्पपीडितका लागि पर्याप्त काम नभएको भन्दै तत्काल सरकारले भुकम्पपीडितका लागि सही व्यवस्थापन र पुनःनिर्माणको काम अविलम्ब गर्नुपर्ने बताउनुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन एमाले अगाडि बढेको चर्चा गर्नुभयो । समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमालेले एकल बहुमत आवश्यक रहेको बताउनुभयो ।देशको भविष्य, सुरक्षा, राष्ट्रियता, सुशासन र विकासका लागि एमालेले एकल बहुमत ल्याएमा मिसन ८४ सफल हुने विश्वास व्यक्त गर्नुभयो । एमाले देश र जनताको काम गर्ने पार्टी भएकाले जनताको सहयोग आवश्यक रहेको बताउनुभयो ।ओलीले आम कार्यकर्तालाई राजनीतिबाट माथि उठेर विकास निर्माणमा लाग्न आह्वान गर्नु भयो । उहाले उत्पादनमूलक काममा सबै लाग्न सकेमा देशको आर्थिक समृद्धि सम्भव हुने समेत बताउनु भयो । राष्ट्रको विकास गर्न अन्य दलका कार्यकर्ता पनि विकासमा लाग्नुपर्ने उहाले औंल्याउनु भयो ।
मध्य पहाडमा उत्पादन बढाएर युवा रोजगार सिर्जना गर्न उनले राज्यका सबै निकायमा पहल गर्ने समेत बताउनु भयो । समृद्धिको यात्राकै लागि एमालेले बैतडीको झुलाघाटदेखि ताप्लेजुङको चिवा भञ्ज्याङसम्मको समृद्धि यात्रा गरेको प्रष्टाउनु भयो । यात्राकै क्रममा ओलीसहित एमालेका १ सय ५० बढी केन्द्रीय नेताहरू बुधबार गुल्मी हुदै बागलुङको बुर्तिबाङ गएका छन् । ओलीले कृषिबाटै देशको समृद्धि ल्याउन मध्य पहाडका हरेक उत्पादनको बजारीकरण गर्न आवश्यक भएको बताउनु भयो ।
‘जुम्लाको स्याउ बिकेन रे भन्ने हल्ला आजकल हटेको छ,’ यहाले भन्नु भयो , ‘अब नबिकेको स्याउ वाइन बनाएर बेच्नुपर्छ ।’ उहाले हरेक वस्तुको तत्कालको बजार व्यवस्थापन नभएमा वैकल्पिक बजारमा लैजान सकेमा किसानहरूलाई फाइदा हुने हुने औल्याउनु भयो । ‘प्रतिपक्ष भएपनि सरकारको कामलाई खवरदारी गर्ने र सम्भावित योजनाहरू समावेश गर्ने हो,’ उहाले भन्नु भयो , ‘समृद्धिको यात्रा सकिएर काठमाडौं पुगेपछि केही परिणाम देखाएर छाड्छौं ।’ उहाले आम कार्यकर्तालाई राजनीतिमा मात्र नभुल्न आग्रह गर्नु भयो । ‘अब राजनीतिमा मात्र भुल्ने होइन, उत्पादन र विकासमा लागौं,’ ओलीले भन्नु भयो ।
प्रतिक्रिया