बुटवल २७ मंसिर ।नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका अध्यक्ष केपी शर्मा ओली खोटाङको दिक्तेल पुगेका छन्। पहिचानवादीको अवरोध छिचोल्दै ओली मंगलबार साँझ खोटाङको सदरमुकमा दिक्तेल पुगेर बास बसेका हुन्।
एमालेको यो अभियानलाई मध्यनजर गर्दै पहिचानवादीले बन्द घोषणा गरेका थिए।
खोटाङमा सोमबार साँझ नै राँके जुलुस भएको थियो। मंगलबार बिहान ओली पुग्ने ठाउँको बाटोमा ढुंगा खसाल्ने, रुख ढाल्ने जस्ता क्रियाकलाप गर्दै बाटो अवरोध भएको थियो। केही ठाउँमा होक्स (नक्कली बम) पनि राखिएको थियो।ओलीसहित एमाले नेताहरूको टोली उदयपुरको घुर्मीमा आयोजित कार्यक्रम सकेर कडा सुरक्षाबीच दिक्तेल पुगेका छन्। उनीहरू मंगलबार राति दिक्तेलमै बसेका छन्।
बुधबार बिहान भेटघाटका कार्यक्रम राखिएको छ। बुधबार नै उनीहरू चखेवाभन्ज्याङ हुँदै भोजपुर प्रवेश गर्नेछन्। जसका लागि पूर्वमन्त्री समेत रहेका गोपाल किराती पनि हलेसी पुगेका थिए। उनै किरातीले पहिचानवादीको नेतृत्व गरेका थिए।
मंगलबार किरातीसहित १५ जना नेताहरू पक्राउ परिसकेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए।एमालेको अभियान रामेछापको मन्थली हुँदै मंगलबार सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको हर्कपुरतिर प्रवेश गरिरहँदा पहिचनावादी आन्दोलनमा उत्रिएका थिए।








प्रतिक्रिया