नवलपरासी ४ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलवार राति पक्राउ गरिएको हो । ‘बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ’, उहाँले भन्नुभयो ।
छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर शर्माले जानकारी दिनुभयो । गएको मङ्सिर २९ गते बालिकालाई उनकी सानीआमाको घर लगेर दबाब दिएर विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यो उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको इन्स्पेक्टर शर्माले बताउनुभयो । पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उहाँले बताउनुभयो । यो दफाअनुसार जबरजस्ती बालविवाह गर्ने÷गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
४ पुस २०८०, बुधबार
प्रतिक्रिया