अर्थ-वाणिज्य

यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान मख्ख



नवलपुर ७ पुस । नवलपुरको पहाडी क्षेत्रका किसानका लागि नगदेबालीको रुपमा रहेको अदुवा आम्दानीको मुख्य स्रोत भएको छ । विगतका वर्षहरुमा भन्दा यो पटक अदुवाले गाउँमै राम्रो भाउ पाएपछि किसान पनि मख्ख परेका छन् ।नवलपुर बुलिङटार वडा नम्बर ४ देउरालीका तिलबहादुर पुलामी विदेशको राम्रो कमाई छोडेर स्वदेश फर्कि अदुवा खेती गर्न थाले । विदेशको राम्रो कमाईलाई छोडेर गाउँ फर्केका पुलाीलाई अदुवा खेतीबाट भएको लाभले फेरी फर्केर विदेश जान मन लागेन । अहिले उनले ८ रोपनी पाखो बारीमा अदुवा खेती गरेका छन् । गत वर्ष यति नै क्षेत्रफलमा अदुवा लगाएर त्यसले भाउ नपाउँदा निरास भएका पुलामी अहिले भने मख्ख परेका छन् ।गत वर्ष एक धार्नी अदुवाले बढीमा ५० रुपैयाँ मात्र भाउ पाएको थियो । तर अहिले गाउँमै काँचो अदुवा धार्नीको एक सय ८० रुपैयाँमा बिक्रि भइरहेको छ । घरपरिवारसँगै बसेर वार्षिक २ लाखभन्दा बढी आम्दानी गर्न सफल भएपछि उनलाई फेरी फर्केर विदेश जान मन लागेको छैन ।स्थानीय अर्का युवा प्रेमबहादुर आलेले पनि आफ्नो सबै पाखो बारीमा अदुवा खेती गरेर रमाईरहेका छन् । पाखो बारी र जंगल फँडानी गरेर ६ रोपनी जग्गामा लगाएको अदुवाले वार्षिक डेढदेखि दुई लाखसम्म आम्दानी दिइरहेको उनको भनाइ छ ।पुलामी र आलेजस्तै ८५ घर धुरी रहेको देउरालीका प्राय सबैले अदुवा खेतीलाई मुख्य पेशा बनाएका छन् । र, सबैजसोले नै एकदेखि तीन–चार लाखसम्म आम्दानी गर्न सफल भएको बुलिङटार वडा नम्बर ४ का अध्यक्ष मिनबहादुर आलेले बताए ।अरु खेती जस्तो धेरै श्रम गर्न नपर्ने अनि अरु उत्पादन नहुने पाखो बारीमा मलविना पनि अदुवाले राम्रो उत्पादन दिने भएकाले किसान अदुवा खेती तर्फ आकर्षित भएको वडाध्यक्ष आलेले बताए । किसानले काँचो अदुवाले भाउ पाउँदा काँचै बेच्छन् भने त्यसको भाउ घटेको बेला अदुवालाई सुकाएर सुठो बनाएर बेच्ने गरेका वडाध्यक्ष आलेले बताए । सुठो धार्नीमा एक हजार रुपियाँसम्ममा बिक्रि हुने गरेको छ ।सुठो अर्थात सुकाएको अदुवा मसलाको रुपमा प्रयोग हुने गर्छ । गाउँमै दुई वटा अदुवा संकलन केन्द्र रहेकाले किसानलाई भारी बोकेर शहरसम्म पुग्नु पर्ने झन्झट पनि छैन ।

प्रकाशित : ७ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६