रुपन्देही ८ पुस । आरजु देउवा अर्थात आरजु भाउजु दाहिना भएपछि प्यूठानको राजीतिमा पछिल्लो समय मात्र देखा परेका फिल्मी दुनियाका एक पात्र सरोज थापा (रोजराणा ) लुम्विनी प्रदेशका मन्त्री हुन सफल भएका छन् । त्यसोत गत निर्वाचनमा उम्मेदवारको नामावली सार्वजनिक भएदेखि नै राजनीतिमा एकाएक चर्चामा आए प्युठानका सरोज थापा । उनी सरोज थापाभन्दा रोज राणाको नामले परिचित छन् । फिल्मी क्षेत्रमा चर्चित रोज राणा एकाएक कसरी प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दा सबै आश्चर्यमा परे ।
अझ कम्युनिष्टको बलियो आधार इलाका रहेको प्युठानबाट जीत निकालेपछि उनको चर्चा थप आकाशियो । ३१ वर्षपछि प्युठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्काउन उनी सफल भएर उनले चर्चा बटुले ।नेपाली कांग्रेसमा संस्थापन समूहको बलियो पात्र बनेका उनी कांग्रेस नेतृ आरजु राणासँग निकै नजिक छन् । यही आधारमा उनले राजनीतिमा पाइला राखेर निर्वाचनमा जित निकालेर आफ्नो प्रभाव पनि देखाए । प्युठानमा संघीय निर्वाचन र प्रदेशसभा ९ख० मा फराकिलो मतान्तरले एमालेका उम्मेदवार विजयी हुँदा उनले आफ्नो जित निकालेर पार्टीभित्र पहुँच देखाएका छन् ।लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषयमा ९ महिनादेखि कचिंगल छ ।
मन्त्री बन्ने लाइनका १० जनाभन्दा बढीको नाम आउँदा पनि रोज राणाको नाम गुपचुप थियो । उनलाई संस्थापन पक्षले समेत सजिलो गरी मन्त्री बन्ने लाइनमा अगाडि सारेको थिएन । तर, शुक्रबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम प्रस्ताव गरेपछि सबै आश्चर्यमा परे ।केही समयअघि मन्त्री बन्ने समाचार प्रकाशन गर्दा धेरैले विश्वास गरेका थिएनन् । सांसद राणाले अहिले मन्त्री आकांक्षीमा नाम राख्दा अरुले खेती गर्ने बताउँदै नराख्न आग्रह गर्दै आएका थिए । प्रदेशसभामा निर्वाचित भएपछि पनि राणाले सदनपछि धेरै समय काठमाडौंमा बसेर काम गर्दै आएका छन् ।
को हुन् रोज राणा ?
४१ वर्ष अगाडि प्यूठान जिल्लाको प्यूठान नगरपालिका– ८ गेजबाङमा विक्रम संवत् २०३९ साल असोज २० गते जन्मिएका हुन् राणा । बुबा स्व खड्गबहादुर थापा र आमा मनकुमारीका उनी कान्छो छोरा हुन् ।२०५४ सालमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनले नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।
२०७९ सालको मंसिर ४ गते भएको निर्वाचनमा उनी प्युठानको प्रदेश सभा क्षेत्र नं २ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५१९ मत ल्याएर निर्वाचित भए ।
उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका उम्मेदवार हरि रिजाललाई १ हजार ७१२ मतान्तरले पराजित गरेका थिए । उनी युवाहरुबीच लोकप्रिय मानिन्छन् ।राजनीतिका साथसाथै उनले चलचित्र निर्माण पनि गरेका छन् । ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ रु’ उनले निर्माण गरेका चलचित्र हुन् । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशनसमेत गरेका छन् । ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रका उनी नायकसमेत हुन् ।
उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बनेका थिए । यी तीन वटै पदमा सर्वसम्मत भएका उनले युरोपका अधिकांश देशका साथै कोरिया, दुबई, कतार, भारतलगायतका देशको भ्रमण गरेका छन् ।फिल्म निर्माता एवं अभिनेता राणाले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको पहलमा प्रदेश सांसद बनेको पहिलो पटकमै मन्त्री बनेको बताइन्छ । कांग्रेस सरकारमा हुँदा उनलाई चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने प्रस्ताव गरिएको थियो ।
प्रतिक्रिया