ब्रेकिंग न्युज

लुम्विनी एक्सपो : पहाडका अर्गानिक उत्पादन परिकारमा दर्शक झुम्मिए



बुटवल,८ पुस । लुम्विनी एक्सपोमा पहाडी र तराईका जिल्लाका अर्गानिक उत्पादनहरुको परिकारहरुमा दर्शक झुम्मिएका छन् । पहाडका अर्गानिक खाद्य बस्तुहरु सजाएर राखिएको दृश्य देख्न सकिन्छ लुम्बिनी एक्स्पोको सांस्कृतिक कार्यक्रम हुने स्टेजको छेउमा रहेको कृषि पेभिलियनमा । बुटवल मण्डपमा पुस ५ गतेदेखि चलेको एक्स्पोमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख बाली (उत्पादन) लाई समेटेर दुई दर्जन बढी स्टल राखिएको छ ।
यस वाहेक खुल्ला स्थानमा राखिएका सहित झण्डै ४० वटा स्टल कृषिसंग सम्बन्धित रहेको आयोजकको दावी छ । यी कृषिजन्य स्टलमध्ये विशेषगरी पहाडी जिल्ला गुल्मी,पाल्पा,रुकुम पुर्व,रोल्पा र प्युठानका जिल्लागत विशेषता बोकेका अर्गानिक उत्पादन का स्टलमा उपभोक्ताको आकर्षण देखिएको छ । स्वास्थ्यका लागि लाभदायक र हितकर मानिने यस्ता पहाडी अर्गानिक वस्तु बारे जानकारी लिन र खरिद गर्न उपभोक्ताको राम्रै चासो देखिएको रोल्पाका उत्पादन राखिएको स्टलधनी हिराकुमारी घलेले बताइन् ।

‘एक्स्पो शुरु भएको तीन दिन मात्र भयो, ब्यापार राम्रै भएको छ, म सन्तुष्ट छु’–घलेले भनिन्–‘नेपाली किसानका कृषि उपज बेच्ने बजार र उचित मूल्यमा विक्रि हुने वातावरण सरकारले बनाइदिने हो भने गाउंका युवाहरु पनि विदेश जान छाडेर आफ्नै ठाउंमा कृषि पेशामा रमाउन सक्छन यसका लागि सरकारले कृषिलाई सांच्चिकै महत्व दिनपर्छ उत्पादनमा आधारित अनुदान दिनुपर्छ ।’रुकुम पुर्वबाट आएका किसान हरिप्रसाद रोका, बर्दियाकी जुगमनी थारु, अर्घाखांचीको लक्ष्मीदेवी महतले भने तेस्रो दिनसम्म ब्यापार खासै नभएपनि स्टलदेखि खान बस्न सबै निशुल्क व्यवस्था भएकाले किसानलाई हौसला दिने यो पक्ष राम्रो लागेको बताए।

‘किसानले आफ्नै खर्चमा स्टलको शुल्क तिर्न, टाढाबाट सामान ल्याउन र १०–१२ दिन खान बस्न लाग्ने खर्चको हिसाबमा ब्यापार थोरै हुंदा घाटा लाग्ने भएर निराश हुनुपर्ने अवस्था यो मेलामा छैन, सबै मेलामा यस्तै व्यवस्था भए कृषि उत्पादनको बजारिकरणमा सहज हुन्छ’– उनीहरुको भनाई थियो ।१२ वटै जिल्लाका कृषि उत्पादनलाई एक्स्पोमा प्रदर्शन गर्न आयोजकले निःशुल्क स्टल उपलब्ध गराएका छन् भने लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको कृषि विकास र पशुपंक्षी विकास निर्देशनालयले बाह्रै जिल्लाबाट कृषि उपज बुटवलसम्म ढुवानी गरी स्टलमा बस्नेलाई मेला अवधिभर खान र बस्नको व्यवस्था समेत गरेको छ ।

यसले गर्दा प्रदेशका सबै जिल्लाका मुख्य कृषि बालीलाई एक्स्पोमा ल्याउन सम्भव भएको र यसले एक्स्पोमा छुट्टै महत्व र आकर्षण दिएको कृषि तथा प्रविधि उपसमिति संयोजक मेघनाथ पौडेलले बताए । ‘बुटवलमा धेरै वर्षदेखि थुप्रै मेला महोत्सव भए तर आयोजकले स्टल निःशुल्क गरेको र सरकारी निकायले ढुवानी र खान बस्न सबै निःशुल्क गरेर कृषिलाई महत्व दिएको शायद पहिलो होला’–पौडेलले भने–‘यसपटक सरकारी निकायको लगानी, सहयोग र भूमिका सांच्चिकै प्रशंसायोग्य छ, यस्तै लगानी र भूमिका अझ बढाउने हो भने मात्रै किसानहरु कृषि पेशा र व्यवसायमा टिक्न र उत्पादन बढाउन हौसला मिल्छ ।’

पुस १८ सम्म चल्ने एक्सपोमा कृषिका ४० बढी सहित गार्मेन्ट तथा तयारी पोशाकका १ सय ४१,होटेल तथा रेष्टुरेन्टका २३, अन्तर्राष्ट्रिय १०, ब्याग र जुत्ता चप्पलका ६८ र राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका ७८ स्टल,श्रृंगार, उपहार तथा खेलौनाका ५२,फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिकका ५३,बैंक/वित्तिय संस्था एवं शैक्षिक संस्थाका १८, अटोमोवाइल्का ६, सूचना प्रविधि, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सका १६,आइसक्रिम तथा वेकरीजका १८,स्टेशनरी तथा स्पोर्टसका ८ र औषधिजन्य ६६ स्टल रहेका मेला आयोजक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६