बुटवल १३ पुस । बचतकर्ताहरुको रकम हिनामिना पारेर भागेका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।सहकारीमा बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा फरार रहेका उपाध्यक्ष दर्लामीलाई प्रहरीले बिहीबार सांझ सिन्धुलीबाट पक्राउ गरेको हो। पक्राउ लगत्तै उनलाई पोखरा पठाईएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक एसपी मोहनकुमार थापाका अनुसार पक्राउ परेका दर्लामीलाई लिन कास्की प्रहरीको टोली गएको छ।
‘काठमाडौं प्रहरी टोलीले उनलाई पक्राउ गरेर काठमाण्डौ ल्याएको छ। हाम्रो टोली पनि लिनलाई गएको छ,’ एसपी थापाले भने।
सहकारीबाट पक्राउ पर्ने उपाध्यक्ष दर्लामी दोस्रो व्यक्ति हुन्। यसअघि कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाटै पक्राउ परेका थिए। उनी बुटवलमा रहेको सुप्रिम सहकारीका सचिव समेत हुन्।
सहकारीका प्रमुख डिजाईनर जिबी राई सहित १७ जना अझै फरार छन्। कास्की प्रहरीले यस प्रकरणमा चार जनाविरूद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्नका लागि प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा पत्राचार गरेको छ। उक्त शाखाले कागजातहरू अध्ययन गरिरहेको छ।
जिबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थान बहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङ विरूद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गर्ने तयारी प्रहरीको छ।
जिबी राई ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ। उनीहरुले पोखरा, चितवन बुटवल लगायतका सहरहरुमा सहकारी स्थापना गरेर बचतकर्ता हरुको अर्वौंरकम हिनामिना गरेका छन्।जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रूपैयाँ अपचलन भएको उजुरी छ। त्यसबाहेक पनि उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया