काठमाडौं १७ पुस। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरताको समस्या समाधानार्थ तीन सुझाव सुझाएका छन् ।बीपी कोइरालाको ‘मेलमिलाप नीति’ लाई सम्झिँदै नेपाली कांग्रेसले सोमबार प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन सुझाव दिएका हुन् । उनले अहिले नयाँ ढङ्गको एकता र मेलमिलाप गर्न सके बीपीप्रति त्यही सच्चा सम्मान हुने बताए ।
स्थायी सरकार नहुँदा जनअपेक्षित काम हुन नसकेको उनले बताए । “भनेपछि त शासकीय स्वरूप र निर्वाचन प्रणालीमा पनि समस्या रहेछ भनेर हामीले बुझ्नुपर्यो । संविधान बनेपछि दुईरदुईपटक निर्वाचन भइसक्यो, कुनै दलको बहुमत आएको छैन । बहुमत नआएपछि १० /१५ वटा दल सरकारमा हुन्छन् । प्रधानमन्त्रीलाई समस्या हुन्छ । कतिबेला सरकार फुत्किन्छ भन्नेछ, अनि कसरी हुन्छ सुशासन रु,” डा भट्टराईले भने ।
उनले थप— ६/६ महिनामा सरकार फेर्छौँ । प्रधानमन्त्रीलाई समस्या छ । संविधान त एउटा वृक्ष हो तर, त्यसमा सुशासन र समृद्धिको फल लाग्नुपर्ने लागेको छैन । अब फल फलाउनका लागि नयाँखाले राष्ट्रिय सहमति गर्नुपर्छ । पछाडि फर्किनेवाला फेरि हुनै सक्दैन । सरकारमा रहेकाहरू सबैलाई मन्त्री चाहिन्छ । आफ्नै पार्टीभित्र पनि ३/३ महिनामा सबैलाई मन्त्री चाहिन्छ । अनि कहाँबाट सुशासन हुन्छ ?राजनीतिक अस्थिरताका लागि समाधान खोज्नुपर्छ ।यो समस्याको हल गर्नका लागि डा भट्टराईले यी तीन समाधान सुझाएका छन् ।
१ संयुक्त सरकार : सबै दलहरूको संयुक्त सरकार बनाऔँ । त्यसो हुँदा पाँचैवर्ष चल्ने सरकार बन्छ । मानिने एकजनाको नेतृत्वमा सरकार बनाऔँ । किन भागबन्डा गर्नुपर्यो रु जस्तो जर्मनीमा एन्जेला मार्केलले त्यहाँको ख्रिस्चियन डेमोक्र्याट र सोसल डेमोक्र्याट मिलाएर पाँचवर्ष मज्जाले चाए । यहाँका कांग्रेस -कम्युनिष्टजस्तो हो । हामीले पनि त्यो गर्नसक्छौँ ।
२ पूर्ण समानुपातिक : यदि त्यसो नभए स्वीटजरलैन्डको जस्तो पूर्ण समानुपातिक बनाऔँ । दलहरू निर्वाचनमा जान्छन्, कति प्रतिशत मत ल्याउँछन्, त्यसकै आधारमा सरकारमा रहन्छन् । यसले पनि घरी(घरी सरकार फेर्नुपर्ने समस्यामा पार्दैन ।
३ प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणाली : यदि यी दुईवटा विकल्पमा पनि गइएन भने प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीमा जाऔँ । यसो गर्दाचाहिँ पाँचैवर्ष स्थायी सरकार बन्छ । यदि यसो गरिएन भने बन्दैन, बन्दैन । हाम्रै छोरा(छोरीहरू देशमा बस्दैनन् । अनि हामीले लोकतन्त्रको डम्फु बजाएर के गर्ने ?
प्रतिक्रिया