खोज–अनुसन्धान

लुम्विनी एक्सपो : प्रादेशिक पर्यटन गुरुयोजनाको खोजी



बुटवल, १७ पुस । रुपन्देही ब्यापार संघले बुटवलमा सञ्चालन गरेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय ब्यापार मेलामा आयोजित पर्यटन प्रवद्र्धन विषयक अन्तरक्रियामा प्रादेशिक पर्यटन गुरुयोजना निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिए । उनीहरुले पर्यटकको वसाई लम्वाउन प्रदेश स्तरको पर्यटक गुरुयोजना आवश्यक भएको ठहर गरे ।
प्रदेश पर्यटन विकास परिषदका प्रमुख रामु जोशीले प्रदेशको पञ्चवर्षिय योजनामा पर्यटन गुरुयोजना पनि समेट्ने तयारी भइरहेको बताए । मुलुक संघीय संरचनामा गएको धेरै लामो समय नभएकाले प्रदेश पर्यटन गुरुयोजना निर्माण नभएको भन्दै अब ढिलाई गर्न नहुने जोशीले बताए । उनले बुटवललाई पर्यटक विश्रामस्थल बनाउन बुटवल उपमहानगरपाकिलाले पर्यटन गुरुयोजना बनाउनुपर्ने सुझाए ।‘प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनीसहित तिलौराकोट, रामग्राम र देवदहदेखि रुकुमको सिस्ने हिमालसम्मका २ सय ८३ वटा पर्यटकीय गन्तव्य छन्’–जोशीले भने–‘यी सबै स्थानमा पर्यटकीय पुर्वाधार बनाउने गरी गुरुयोजनामा समेट्ने सरकारको तयारी छ ।’
गुरुयोजनामा हरेक स्थानीय तहमा पर्यटन शाखा र पर्यटन विकास समिति गठनलाई अनिवार्य गरिने र पर्यटनमा हुने खर्चलाई एकीकृत लगानी गरेर छिटो प्रतिफल आउने गरी काम गर्नुपर्ने उनले बताए ।पर्यटकलाई आकर्षित गरी बसाई लम्ब्याउन सुविधायुक्त फराकिलो पार्किङस्थल र पर्यटक बस चाहिने जोशीले सुझाए । बेलहिया नाकाबाट आउने पर्यटक सिधै पोखरा जाने परिपाटी रोकेर बुटवलमा बास बस्ने वातावरण बनाउन होटेल र पर्यटन व्यवसायीले खानाका परिकारमा बुटवलको छुट्टै रैथाने ब्राण्ड सहित स्थानीय टुर प्याकेज बनाउनुपर्ने जोशीले सुझाए ।उनले सामुदायिक वनहरुमा जंगल वाक,नेचर वाक,हाइकिङ,ट्र हाउस,चरा संरक्षण, पोखरी निर्माण लगायतका गतिविधि गरेर पनि पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । जिल्ला वा प्रदेशभित्रका विद्यालय,सहकारीहरुले पहिले प्रदेशभित्रकै पर्यटकीय स्थल घुम्नुपर्ने गरी गुरुयोजना र नीति बनाउनुपर्ने औंल्याए ।बैंक तथा व्यवसायिक संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च हुने रकम बुटवलको शहरी सौन्दर्यीकरण, सरसफाई र वातावरण संरक्षणमा खर्च गरे त्यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जोशीले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल भैरहवाका महाप्रबन्धक हंसराज पाण्डेले पर्यटकीय विकासको लागि हवाइ यातायात मात्र नभइ स्थल मार्ग पनि सहज र सुगम हुनुपर्ने बताए । ‘अन्य देशमा विमानस्थलदेखि मुख्य शहरसम्म सटल बस सेवा हुन्छन् । कमसेकम सटल एक्सप्रेस नभएपनि सेड्युल बस सेवा हुनसक्छ ।’ उनले भने ‘बुटवलको मुख्य ठाउँदेखि एयरपोर्टसम्म बस सेवा दिनुस् । विमानस्थलले के सहकार्य गर्नुपर्छ गर्छ ।’
पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलप्रति विदेशी विमान कम्पनीहरुले चासो दिइरहेको भन्दै उनीहरुले अध्ययन गरिरहेकाले ढिलोचाँडो भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वास व्यक्त गरे ।नेपाल चेम्बर अफ कमर्श लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पर्यटन प्रवद्र्धन सम्बन्धी बहस धेरै भएकाले अब ठोस कार्यक्रमका साथ अघि बढ्नुपर्ने उल्लेख गरे ।मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले तिनाउ नदीमा जलाशययुक्त ड्याम बनाएर बाह्रैमास पानी बग्ने बनाई डुंगा शयर र जल पर्यटनको विकास गर्नुपर्ने बताए । उनले अंग्रेज फौजलाई नेपाली फौजले हराएको ऐतिहासिक जितगढी किल्लामा नेपाल–अंग्रेज युद्धको झल्को दिने यद्ध संग्रहालय बनाउने र यसलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक भित्राउन गुरुयोजना बनाउनुपर्ने सुझाए ।
‘चिडियाखोलादेखि दक्षिणमा मगरघाटसम्म जलाशययुक्त ड्याम बनाउने र नदीको दुबैतर्फ पक्की सडक बनाई जल पर्यटनको विकास गर्ने हो भने यहां पर्यटकलाई आकर्षित गरी भुलाउन सकिन्छ’–नेपालले भने–‘जल पर्यटनसंगै जितगढीमा यद्ध संग्रहालय पनि बनाउनुपर्छ ।’पर्यटनविज्ञ बलबहादुर आचार्यले प्रदेशको पर्यटन गुरुयोजना बनाएर मात्र पर्यटन पुर्वाधारमा लगानी गर्नुपर्ने बताए । योजनाविनाको कनिका छराई लगानीले पर्यटकमैत्री पुर्वाधार बनाउन नसकिने भएकाले गुरुयोजना अनुसार विविधतायुक्त र विशिष्टीकृत सेवा पर्यटकलाई पस्कन सक्नुपर्ने बताए ।
उद्योग बाणिज्य संघ बुटवलका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जितगढी किल्लामा सन्ध्या आरती, सैनिक परेड, जातीय सांस्कृतिक नाच पर्यटकलाई देखाउन सके पर्यटक आकर्षित हुने बताए ।रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीले पर्यटकले चाहे जति रकम ल्याउन दिए मात्रै पर्यटन व्यवसायबाट लाभ लिन सकिनेमा सरकारी नीति वाधक भएको औंल्याए । उनले पुरानो बुटवल बजारलाई पुरानै शैलीमा पुनःनिर्माण गर्नसके पर्यटकका लागि आकर्षक गन्तव्य हुने सुझाए ।लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरुषोत्तम अर्यालले पर्यटन गुरुयोजना र टुर प्याकेज नहुंदा लुम्बिनी आउने ७० प्रतिशत पर्यटक बास नबसी फर्कने गरेको बताए ।

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६