कपिलवस्तु २३ पुस ।नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सुवेदी ‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन। सम्झनामा सधैँ अजर अमर मेरो आफ्नु मान्छे। हार्दिक श्रद्धासुमन।’मनरुपाले राखेको तस्बिर श्रीमान विजय सुवेदी ९विकास० को थियो भने व्यक्त भावना धेरै वर्ष अर्थात् २०६१ साल मंसिर १७ गतेसँगै जोडिएको थियो।
भएको के थियो भने, स्याङ्जाको सिर्सेकोटमा खाना खाँदै गरेका विजयसहित ५ जनालाई तत्कालीन शाही नेपाली सेनाले घेरा हालेर मारेको थियो। मारिनेमा विजयसहित कृष्ण गौतम, कुविजा पराजुली, मोहनसिंह गाहा मगर र खड्ग कुँवर थिए।मनरुपाको विहे भएको धेरै भएकै थिएन। विजय र मनरुपा दुवै माओवादीका पूर्णकालीन कार्यकर्ता नै थिए। युद्धको समयमा मनरुपाको काम पार्टीको लडाकु पंक्तिलाई सघाउनु नै हुन्थ्यो। पति गुमाएपछि पनि उनी निरन्तर पार्टीकै काममा लागिन्। कयौंपटक मृत्युको मुखबाट फुत्किइन्, बेनीसहितका युद्धमा लडाकुको सहयोगमा खटिइन्।
युद्धकालीन समयमा स्याङ्जाकै मग्याम चिसापानीमा सेनाको घेरामा परेको र बल्लतल्ल फुत्किएको घटना अहिले पनि उनलाई ताजै लाग्छ। सँगैकी साथीलाई सेनाले समातेपछि उनी गाउँलेजस्तो बनेर त्यहाँबाट फुत्केकी थिइन् रे१पार्टी शान्ति प्रक्रियामा आयो। सहिद परिवारकी सदस्य मनरुपालाई पहिलो संविधान सभा चुनावमा पर्वतबाट उम्मेदवार बनायो। तर, उनी नेपाली कांग्रेसका अर्जुन जोशीसँग पराजित बनिन्। त्यसपछिका हरेकजसो चुनावमा उनी पार्टीबाट उम्मेदवार सिफारिस भइन्। समानुपातिकको सूचीमा रहिन् तर सिंहदरबार छिर्ने साइत भने जुरेन।
‘उहाँ सहिद परिवारको सदस्यमात्र नभएर पार्टीको अगुवा नेतासमेत हो,’माओवादीका केन्द्रीय सदस्य राजकाजी गुरुङले भने,‘त्याग र क्षमताको आधारमा उहाँ राष्ट्रिय सभाको लागि योग्य उम्मेदवार हो। उहाँप्रति पार्टीले न्याय मात्र गरेको छैन, आशा पनि गरेकै छ।’माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी उनलाई पार्टीले जिल्लाको नेतृत्व सुम्पियो। जिल्ला नेतृत्व नै पाउने सीमित महिलामध्ये एक बनेकी मनरुपाले पार्टीको कामलाई सधैं केन्द्रमा राखिन्। पार्टीले संचालन गरेको रुपान्तरण अभियान होस् कि संगठन बिस्तार निरन्तर मोर्चामा खटिइरहिन्।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १०, वडा नम्बर १०,पिपलटारीकी उनै मनरुपालाई पार्टीले यसपटक राष्ट्रिय सभाको उम्मेदवार बनाउने घोषणा गरेको छ। महिला समूहबाट माघ ११ गते हुने राष्ट्रिय सभामा उम्मेदवार घोषणा भएसँगै जीत लगभग पक्का भएको छ। कारण, उनको पछाडि सत्ता गठबन्धन रहेको छ। गठबन्धनमा आबद्ध भएका दलहरुको मतभार ३ हजार ८२७ रहेको छ।गठबन्धन यतिबेला प्रमुख प्रतिपक्षी एमालेभन्दा झन्डै एक हजार ४ सय मतभारले अगाडि रहेको छ। यता
आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले बागमतीमा श्रीकृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष रहेका अधिकारीको संसदीय यात्रा भने पहिलो पटक तय भएको हो।२०३८ सालबाट कम्युनिष्ट पार्टीमा लागेका अधिकारी जनयुद्धको सुरुवातबाटै भूमिगत भएका थिए। साना लालाबाला र श्रीमती छोडेर जंगल पसेका अधिकारी जनयुद्धको एक वर्ष अर्थात २०५३ पुस १९ गते रामेछापको बेथानमा भएको लडाइँमा घाइते भए।
दाइने आँखामा गोली लाग्यो। संसार देख्ने एउटा आँखाको नानी गुमाउन पुगे। ३७ वर्षकै उमेरमा उनी युद्धका कारण अपांगता बन्न पुगे। उक्त घटना पछि पनि उनले युद्धको ९ वर्ष भूमिगत रुपमै बिताए।
माओवादी शान्ति वार्तामा आएपछि पनि अधिकारी अहिलेसम्म अवसर नपाउने नेतामध्येमा पर्छन्। ३७ वर्षको उमेरमा आँखा गुमाएका उनलाई २७ वर्षपछि पार्टीले अवसर दिएको हो। तर बाहिरी रुपमा अवसर नपाएको भनिएपनि त्यस्तो नभएको उनी बताउँछन्।‘अवसर नै नपाएको भन्ने त होइन। मैले आजसम्म पनि पार्टीले अवसर दिएन भनेर कहीँकतै भनेको छैन’ उनले नेपालखबरसँग भने, ‘अहिले पनि म प्रदेश सम्पर्क विशेष कमिटीको अध्यक्ष हुँ। संसदीय यात्रा भने पहिलो पटक नै हो।’
त्यसोत, अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ‘एस म्यान’का रुपमा चिनिन्छन्।माओवादीबाट बागमतीमा अन्य हेभिवेट नेताहरुको नाम पनि सिफारिसमा परेको थियो, टिकट पाउनुमा पार्टी अध्यक्षकै देन होरु’ नेपालखबरको यो प्रश्नमा उनले हाँस्दै भने, ‘टिकट पाउनुको देन त पार्टीका केन्द्रीय स्तरका नेताकै हो। तर पुष्पकमल दाहालकै योगदानले टिकट पाएँ भन्ने घमण्ड गर्दिनँ। यसमा मैले पार्टीलाई गरेको योगदान पनि समेटिएको छ।’
माओवादीबाट बागमतीमा पाएको सिट नेकपा एमालेबाट रिक्त हुने पद हो। गठबन्धनले एमालेबाट रिक्त हुने ८ सिट बाँडफाँट गरेका छन्। जसमा माओवादीलाई बागमतीमा एक सिट भाग परेको हो।यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो
प्रतिक्रिया