कपिलवस्तु, २९ पौष ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१० मा अवस्थित पटना कृषि सहकारी संस्था लिमिटेडलाई नेपाल परिवारले एक कठ्ठा जग्गा दान गरेको छ । सहकारीको भवन निर्माण गर्नको लागी कोरिया चोकमा रहेको एक कठ्ठा जग्गा दान स्वरुप दिइएको रमेश नेपालले बताउनुभयो । सहकारीको १६ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा नेपाल परिवारले सो जग्गाको लालपुर्जा सहकारीलाई हस्तान्तरण गरेको हो ।
सहकारीलाई आगामी दिनमा थप व्यवस्थित गर्दै समृद्धि हासिल गर्ने कार्यमा मद्दत पुगोस् भन्ने उद्देश्यका साथ जग्गा दान गरेको उनले स्पष्ट पार्नुभयो । उक्त जग्गामा छट्टै भवन निर्माण गर्न आग्रह गर्दै ध्रुब नेपालले सहकारीका सम्पूर्ण कार्यक्रमसहित अन्य कार्यक्रम समेत गर्न सकिने बताउनुभयो ।
उहाँले तुलनात्मक रुपमा बाणगंगाका अन्य वडामा भन्दा वडा नम्बर १० मा विकास निर्माणका काम न्युन मात्रामा भएको बताउनुभयो । उहाँले यस वडा ओझेलमा परेको बताउनुभयो । उहाँले सहकारीमा शेयर सदस्यको संख्यालाई थप विस्तार गरेर थप सुदृढ बनाउन अपिल समेत गर्नुभयो ।
वडाध्यक्ष यमप्रसाद पोख्रेलले सहकारीका सदस्यलाई थप उर्जावान बनाउन सहकारी शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । सहकारीका सदस्यलाई बैंक र सहकारीबीच के भिन्नता छ भन्ने कुरामा स्पष्ट पार्नुपर्ने उहाँको भनाई छ । उनले सहकारी बैंक जस्तो निर्दयी नहुने बताए । बैंकबाट केही धनाढ्यहरुले फाईदा लिने गरेको उहाँको भनाई छ ।
उहाँले स्थानीय सहकारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । सहकारीकी व्यवस्थापक पवित्रा थारुले संचालन गरेको उक्त कार्यक्रम सहकारीका अध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भएको सचिव सत्यनारायण थारुले जानकारी दिए ।








प्रतिक्रिया