अर्थ-वाणिज्य

राजनीतिमा नयाँ खिचडी पाक्दै : सरकारवाट वाहिरीने एकीकृत समाजवादीको चेतावनी




काठमाडौँ २ माघ । सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबिच खटपट भएको छ । आगामी फागुन २० गते रिक्त हुन लागेको एक तिहाइ सिटमा गठबन्धनभित्र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् ।सिट बाँडफाँट गर्न पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा भाग नपाउने भएपछि सत्ता घटक साना दलहरू त्यहाँबाट बाहिरिएका थिए । बैठकबाट बाहिरिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । सातै प्रदेशमा भोट प्रभावित गर्ने उनीहरूसँग मत नभएपनि एकरएक सिट दाबी गरेका थिए । तर नपाएपछि जनमत पार्टीले मधेस र लुम्बिनीमा अन्य क्लस्टरबाट छुट्टै उम्मेदवार उठाएको छ ।

११ गते हुने निर्वाचनमा जपाले मधेसमा रामशंकर महासेठ र लुम्बिनीमा बालगोविन्द चौधरी थारुलाई उठाएको छ । ती प्रदेशबाहेक अन्य प्रदेशमा गठबन्धनका उम्मेदवारलाई नै सघाउने निर्णय गरेको छ ।पुस २९ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत सहभागी भएन । उक्त बैठकले गठबन्धनबाट उम्मेदवारी दिएका १९ जनालाई विजयी गराउन अपिल गरेको थियो । अपिलमा जनमतबाहेकका दलको मात्र हस्ताक्षर रहेको छ ।उसो त सरकार सञ्चालन र सिट बाँडफाँटलाई लिएर गठबन्धनका ठूला दल कांग्रेस र माओवादीप्रति एकीकृत समाजवादीभित्र पनि व्यापक असन्तुष्टि देखिएको छ । सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकमा गठबन्धनको संस्कृति विपरित कांग्रेस र माओवादीले सरकार सञ्चालन र सिट बाँडफाँटमा एकलौटी गरेको भन्दै तीव्र असन्तुष्टि पोखिएको छ ।

यस्तै अवस्था कायमै रहे सरकारबाट बाहिरिनुपर्ने केही नेताहरूले धारणा राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले गठबन्धनमा बस्न निकै अप्ठ्यारो भएको रातोपाटीलाई बताए । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, खनालले भने ।आफूहरूको मतबाट मोटाएका कांग्रेस–माओवादीले अहिले पार्टीमाथि नै प्रभुत्व जमाएको उनले आरोप लगाएका छन् । राष्ट्रिय सभामा एकीकृत समाजवादीले ३ सिट दाबी गरेपनि साबिक २ सिट पाएको थियो । यसअघि स्वतन्त्र जितेको सिट खोसिएको थियो ।

यस्तै राष्ट्रिय सभामा दुई सिट दाबी गरेको जसपा मधेसमा साबिक एक पाएकोमा सन्तुष्ट छैन । यद्यपि आफूहरू गठबन्धनलाई थप बलियो बनाएर जाने पक्षमा रहेको नेताहरू बताएका छन् । तर सरकारले अपेक्षित रुपमा काम गर्न नसकेको उसले निष्कर्ष निकालेको छ । बुधबार, बिहीबार र शुक्रबार राजधानीमा बसेको राजनीति समिति र केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले प्रतिवेदन पेस गरेका थिए । यद्यपि श्रेष्ठले जसपा सत्ता गठबन्धनलाई अझै बलियो बनाएर जाने पक्षमा रहेको बताए ।

‘राष्ट्रिय सभामा हामीले दुई सिट दाबी गरेको हो । दाबी अनुसार सिट पाएनौँ । साबिक एक सिटमा चित्त बुझाएर भएपनि गठबन्धनका सबै उम्मेदवारलाई जिताउने पक्षमा उभिएका छौँ’, उनले भने, ‘सत्ता टिकाउन प्रधानमन्त्री केन्द्रित हुनुपरेकोले अपेक्षा अनुसार काम हुन सकेको छैन । हामी गठबन्धनलाई थप बलियो बनाएर लैजाने पक्षमा छौँ ।’यस्तै राष्ट्रिय सभामा एकरएक सिट दाबी गरेका लोसपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी भागबण्डाप्रति असन्तुष्टि जनाएका छन् । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा आफ्नो दाबी रहेको बताएका छन् ।

‘राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा पार्टीको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलजीलाई प्रस्ताव गरेका छौँ । राष्ट्रिय सभामा योग्य, अनुभवी र क्षमतावान व्यक्ति जानुपर्छ भन्नेमा हामीलाई अनुभव भएको छ’, केसीले भनेका थिए ।यस्तै लोसपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले भागबण्डाप्रति असन्तुष्टि जनाएपनि गठबन्धनकै पक्षमा रहेको बताएका छन् । यद्यपि सातै प्रदेशमा साना दलहरूले निर्वाचन प्रक्रियामा असहयोग गरेपनि गठबन्धनका उम्मेदवारलाई कुनै असर पर्ने देखिँदैन । कांग्रेस–माओवादीको मतभार सातै प्रदेशमा बलियो रहेकाले केही फरक पर्ने स्थिति छैन ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६