प्रदेश

कपिलवस्तु सहित लुम्बिनी प्रदेशका सबै जिल्लाका दश लाख जनता स्वास्थ्य बीमामा आबद्ध



कपिलवस्तु, ०९ माघ । लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २१ दशमलव ३३ प्रतिशत रहेको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले बताए ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका हुन् । बिमितमध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला र १ सय १७ जना अन्य समावेश छन् ।

प्रदेशमा बाँकी ७९ प्रतिशत जनसङ्ख्यालाई पनि बीमाको दायरामा ल्याउन पहल भइरहेको बीमा बोर्डका प्रदेश संयोजक साउदले बताए ।

कुन जिल्लामा कस्तो अवस्था ?

नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि लुम्बिनी प्रदेशको पाल्पामा २०७३ सालमा यसको सुरुवात भएको हो । बिस्तारै अन्य जिल्लामा पनि कार्यक्रम लागु हुँदै २०७७ साल फागुनसम्म प्रदेशका १२ वटै जिल्लामा बीमा सेवा विस्तार भएको थियो ।

पाल्पामा २ लाख ३६ हजार ७ सय १७ जना स्वास्थ्य बिमित छन् । सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयले जनाएको छ ।

रुपन्देही जिल्लामा १ लाख ६१ हजार ५ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ९६, गुल्मीमा १ लाख ७ हजार ३ सय १२, कपिलवस्तुमा १ लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार १ सय १६, बाँकेमा ७१ हजार २ सय ५ बिमित छन् । यस्तै, प्युठानमा ६३ हजार ८ सय ८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिममा ४४ हजार १ सय ६८, रोल्पामा ३८ हजार ९ सय ३९ बिमित छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बीमा बापतको सेवा लिन दैनिक ३ सयभन्दा धेरै बिरामी हुने गर्दछन् । प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी दयासागर पन्थीले बीमा गराएको व्यक्ति र अन्य जिल्लाबाट रिफर आएको व्यक्तिले पनि यो स्वास्थ्य बीमाको सेवा लिन पाउने बताए ।

स्वास्थ्य बीमा लागु भएका प्रादेशिक अस्पतालहरूमा सेवाग्राही बढेको मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए । उनले भने, ‘विगतमा भन्दा बीमा लागु भएपछि बिरामीको सङ्ख्या वृद्धि भएको छ । जसका कारण अस्पतालमा ल्याब, ओपीडी तथा फार्मेसी व्यवस्थापनमा चुनौती थपिएको छ ।’

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६