नवलपुर,९ माघ । वडाध्यक्षले निर्माण सामग्री चोरेको आरोप लगाउंदै ठेकेदारले कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको काम रोकेका छन् । गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरंग खोलामा निर्माणाधीन पुलका करिब ४८ लाख बराबरको सामान चोरिएको जनाउँदै ठेकेदारले काम ठप्प पारेका हुन्।
निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी भएको बताए।
‘बुलिङटार–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले निर्माण सामग्री चोरेर लगेका र सामान लैजाँदै गर्दा उनको ट्याक्टर दुर्घटनामा परेर मानिससमेत मरेका उनले बताएका छन् । ‘बुलिङटारमा निर्माणाधीन संरचनामा वडाध्यक्षले पार्टनरसीप गरेका थिए । जसमा करिब ११ लाखको काम गर्दा एक लाख ७० हजार रुपैयाँ रकम तिर्न बाँकी रहेको रकम दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीको आरोप छ। सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिएको उनले भने । हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि नबढाउने लोहनीले स्पष्ट पारे ।
व्यवसायी लोहनीले करिडोरको तरंग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी तीन करोड ७३ लाखमा ठेक्का पाएका थिए। पुल निर्माणको काम ६५ प्रतिशत सकिएको छ। सो पुल असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने समयसीमा छ।
आरोपी वडाध्यक्ष जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको र सम्पर्कमा आएको बेला पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ। पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्याक्टर दुर्घटना भएको उनको भनाइ छ।
सामान चोरी भएको विषयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्याक्टर गत माघ ४ गते साँझ बुलिङटार–१ मोजडाँडामा दुर्घटना भएको थियो। कालीगण्डकी करिडोरबाट करिब १०० मिटर तल खेतमा खसेको ट्याक्टरले थिचेर बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको थियो।








प्रतिक्रिया