अर्थ-वाणिज्य

रुपन्देही व्यापार संघमा पदभार ग्रहण समारोह



बुटवल १० माघ । रुपन्देहीव्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित कार्य समितिले एक विषेश कार्यक्रमका बीच शपथग्रहणसहित पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले प्रमाणपत्र प्रदान गरे । संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले टिका तथा अध्यक्ष कृष्णप्रसाद घिमिरेले खादा लगाएर शुभकामना व्यक्त गरे ।

महासचिव दयानिधि भण्डारीले नवनिर्वाचित महासचिव फर्सुराम पन्तलाई म्यान्यूट तथा कोषाध्यक्ष ऋषिराम पाण्डेले नवनिर्वाचित कोषाध्यक्ष मनिराम खनाललाई चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीको आर्थिक तथा औद्योगिक विकाससँगै समग्र परिर्वतनका लागि एकिकृत विकास परियोजना अगाडि बढाउनु पर्ने बताए । उजले यस क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरुले सामुहिक पहलगर्दै आएको भएपनि सबैको चाहाना अनुसारको काम हुन नसकेको बताए ।
सांसद घिमिरेले वर्तमान सरकार जनताको कुरा सुन्ने अवस्थामा नरहेको बताउँदै उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो तर्फबाट सधै आवाज उठाइरहने प्रतिवद्धता जनाए । घिमिरेले व्यवसायीक हकहितका लागि प्रतिष्पर्धाबाट आएको संघको नेतृत्वलाई सधै कटिवद्ध भएर काम गर्न सुझाव दिँदै निर्वाचनको परिणामलाई नेतृत्व चयनको एक विधिका रुपमा लिन आग्रह गरे । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार व्यवसायीहरुको साथमा सधै रहेको जनाउँदै व्यवसायिक समस्याहरुलाई सामुहिक रुपमा बसेर समाधान गर्ने प्रतिवद्धता गरिन् । उनले बुटवल उपमहानगरपालिका र व्यापार संघ व्यवसायिक हितका लागि एक भएर अगाडि बढ्ने बताइन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघको नेतृत्व चयनका क्रममा भएका गतिविधिले संस्थालाई मजबुत बनाउन मद्दत गरेको बताउँदै संघको हित विपरित कुनै गतिविधि हुन नदिन सबै लाग्नु पर्ने धारणा राखे । उनले संघलाई यहासम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको र संस्थापक अध्यक्षको हैसियतमा सधै संघको विकासमा आफू प्रतिवद्ध रहने बताए । संघका निर्वतमान अध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्तगर्दै प्रजातान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन भएकोहुँदा संस्थाको गरिमा र प्रतिष्ठामा आच नआउने गरि कामगर्न आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष दिपक प्रसाद अधिकारीले आफू मन, वचन र कर्मले अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्तगर्दै संघको गरिमालाई उचाईमा पुर्याउन सबैलाई सहमति र सहकार्यमाजोड दिए । उनले निर्वाचनका दौरानमा पक्ष र विपक्ष भएको भएपनि आगामी दिनमा त्यसलाई विर्सेर संस्था र व्यवसायीहरुलाई सर्वोपरि ठानी सबै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६