प्रदेश

अध्यागमन कार्यालयका कारण भित्रिन पाएनन् तेस्रो देशका पर्यटक



नेपालगन्ज, १४ माघ । सीमापारि भारतको रुपैडिहास्थित अध्यागमन कार्यालयका कारण नेपालगन्ज नाका हुँदै आउने र जाने तेस्रो मुलुकका पर्यटकको आवागमन करिब चार वर्षदेखि बन्द छ । कोभिडका कारण २०७६ साल फागुनदेखि भारत सरकारले रुपैडिहास्थित अध्यागमनबाट तेस्रो देशका नागरिकको आवागमन बन्द गरेपछि भारतीय स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल छिर्न पाएका छैनन् ।

कोभिड समस्या समाधान भइसकेपछि भैरहवालगायतका अन्य नाकाको स्थल मार्गबाट पर्यटकको आवतजावत भए पनि नेपालगन्ज नाकामा भने नियमित हुन सकेको छैन ।

अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख दुर्गा ओलीले रुपैडिहास्थित भारतीय अध्यागमनले विदेशी नागरिकको आगमन (इन्ट्री) र बहिर्गमन (इक्जिट) दुवै बन्द गरेकाले यो नाका हुँदै तेस्रो देशका पर्यटक आउन र जान नसकेको बताउनुभयो ।

उहाँले रुपैडिहास्थित भारतीय अध्यागमन कार्यालयले सबै काम बन्द गर्दा नेपालगन्जलाई ट्रान्जिट बनाएर नेपाल भारत घुम्न आउने विदेशी पर्यटक आवागमनको सङ्ख्या शून्यमा झरेको बताउनुभयो ।

अध्यागमन कार्यालय नेपालगन्जका अनुसार नेपालगन्जबाट पर्यटक आगमन हुने व्यवस्था नभएपछि विकल्पमा भैरहवा भएर नेपाल छिर्ने गरेको जनाइएको छ । नेपालगन्ज नाकाबाट तेस्रो देशका पर्यटक आउन मिल्ने गरी रुपैडिहास्थित भारतीय अध्यागमन कार्यालयले काम सुरु नगर्दा विदेशी पर्यटकको आवागमन ठप्प भए पनि नेपालले पहल नगरेको पर्यटन व्यवसायीको गुनासो छ ।

नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले यस विषयमा सरकारले भारतसँग कुराकानी गरेर पर्यटकको आवागमन हुन सक्ने वातावरण बनाउनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “यता हामी रातदिन कसरी विदेशी पर्यटक नेपाल भित्र्याउनेबारेमा चिन्तित छौँ, उता नेपालगन्ज नाकाबाट आउन चाहने पर्यटकले पनि भारतीय अध्यागमनका कारण आउन सकेका छैनन् । त्यसका लागि सरकारले पनि कुनै पहल गरेको देखिँदैन ।” पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विगतमा भारत भएर नेपालगन्ज आउने विदेशी पर्यटकको सङ्ख्या धेरै हुने गरेको उल्लेख गर्दै पर्यटन व्यवसायमा हानि पुगेको बताउनुभयो ।

अध्यागमन कार्यालय नेपालगन्जका अनुसार, कोभिडअघिसम्म वार्षिक छ सय जति तेस्रो मुलुकका पर्यटक नेपालगन्ज नाका हुँदै प्रवेश गर्थे । यसरी प्रवेश गरेका पर्यटकले पश्चिम नेपालका पर्यटकीय स्थल भ्रमण गरी काठमाडौँ जान्थे भने काठमाडौँमा ओर्लिएका पर्यटक पश्चिमका विभिन्न पर्यटकीय स्थल घुमेर नेपालगन्ज नाका हुँदै भारत जान्थे । अध्यागमन कार्यालय प्रमुख ओलीले भन्नुभयो, “तर अहिले यो सबै काम ठप्प छ । कार्यालय खोल्ने र बस्ने काम मात्रै भएको छ । अरू त खासै केही काम छैन ।

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६