तम्घास, १६ माघ। गुल्मी जिल्लाबाट ३० जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । गत कात्तिक १९ बाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३० जनाले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
नेपालमा गएको असोजबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक १९ बाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । गुल्मी जिल्लामा पनि नागरिकता लिने सङ्ख्या दैनिक बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्लाबाट प्रवासमा रहनेको सङ्ख्या धेरै नै रहेको र नागरिकता लिनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको प्रशासनले जनाएको छ । नेपालबाट विदेशमा गएर त्यहीँको नागरिकता लिइसकेका प्रवासी नेपालीले गैरआवासीय नेपाली नागरिकता लिन थालेका हुन् । प्रशासनमा थोरै जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन आएमा उसै दिन प्रदान गर्न नसकिने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।
गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुन सक्ने व्यवस्था रहेको छ । गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लागु भएपछि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो ।
गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन पाउने छैनन् तर सम्पत्ति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउने छन् ।
प्रतिक्रिया