प्रदेश

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन पेस




कपिलवस्तु, १८ माघ । प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्कोको विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं यूनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रुपमा मनोनयन दस्तावेज पेस गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै फ्रान्सको राजधानी पेरिसस्थित विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेस हुनु निकै खुसीको कुरा भएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभागसहित विज्ञका रुपमा दुर्हाम विश्व विद्यालयका प्रोफेसरहरुको टोलीले लामो समयदेखि गरेको कामले सार्थकता पाएको उनको भनाइ छ ।

तिलौराकोटलाई सन् २०२५ सम्ममा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया सुरु भएकाले थियो । यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पर्याप्त आधार र प्रमाण जुटाइएको थियो ।

तिलौराकोट कपिलवस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग, स्रोतसाधनको सुनिश्चिता, सरलता र मार्गनिर्देशका लागि निर्देशक समिति समेत गठन गरिएको थियो । उक्त समितिको संयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष रहने व्यवस्था छ ।

सरकारले २०७८/०७९ को नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने योजना राख्नुका साथै आवश्यक बजेट छुट्याएको थियो । विश्व सम्पदा समितिको ४५ औँ बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो ।

अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रुपमा पेस भएसँगै कपिलबस्तु तिलौराकोटलाई विश्व सम्पदा केन्द्रमा दर्ताका लागि विधिवत रुपमा प्रक्रिया अगाडि बढेको लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक पर्ने प्रमाण र आधार अन्तर्राष्ट्रिय र राष्ट्रिय विज्ञहरुले रणनीतिक दस्तावेजमा सामेल गरिसकेको हो । यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्त्विक स्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो ।

प्रकाशित : १८ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६