बुटवल २० माघ । बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० देखि यो केन्द्र सञ्चालनमा आएको हो ।
एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् । त्यतिबेला व्यवसायीसँग १० वर्षका लागि सम्झौता गरिएको थियो ।तत्कालीन समयमा कोभिडको कारण देखाई थोक बजार केन्द्र चलायमान बनाउन व्यवस्थापन समितिले पुरानै व्यवसायीलाई दिने सहमति गरेको थियो । सोही आधारमा अहिलेसम्म बजार चलिरहेको छ । पुराना व्यवसायीहरूले वर्षौंदेखि एकछत्र आधिपत्य जमाएको भन्दै नयाँ व्यवसायी असन्तुष्ट बनेका हुन् । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।
अखिल नेपाल किसान महासङ्घले छिटो टेन्डर गर्न माग गरेको छ । प्रदेश अध्यक्ष महेन्द्र गिरीले त्यसका लागि ज्ञापनपत्रसमेत बुझाइएको बताउनुभयो । तत्कालीन क्षेत्रीय कृषि निर्देशनालय पोखरा, बुटवल उपमहानगरपालिका र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको त्रिपक्षीय सम्झौता अनुसार यो बजार सञ्चालनमा आएको थियो । वर्षमा तीन करोडभन्दा बढीको आम्दानी गर्दै आएको कृषि उपज केन्द्र टेन्डरमा लैजान बुटवल उपमहानगरपालिकाले चासो देखाएको छैन ।लुम्बिनी फलफूल तथा तरकारी थोक बिक्री सङ्घका महासचिव मेघराज पौडेलले व्यवसायीको लगानीबापतको रकम बहालबाट कटौती हुने गरी १० वर्षको सम्झौता गरिएपछि आफूहरू सम्झौताबिना भाडा वृद्धि गरेर बसेको बताउनुभयो ।
प्रतिक्रिया