गुल्मी २० माघ। मालिका गाउँपालिकासँग मितेरी सम्बन्ध कायम गरेको ललितपुर महानगरपालिकाले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। गाउँपालिका भित्रका साँस्कृतिक सम्पदाको संरक्षणका लागि ललितपुर महानगरले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याललाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
मालिका र ललितपुर मितेरी पालिका हुन् । उनीहरुबीच गत असार २१ गते मितेरी सम्बन्ध स्थापित भएको थियो । मितेरी पालिकाले दिएको सहयोग मालिका गाउँपालिकाको पहिचान गराउने धार्मिक तथा पर्यटकीय क्षेत्र मालिका मन्दिर निर्माण गर्ने योजना रहेको पालिका अध्यक्ष देवीराम अर्यालले बताए ।मितेरी सम्बन्ध स्थापना भएपछि ललितपुरले मालिकाको रैथाने कृषि उपजको बजारीकरणमा समेत सहयोग गर्दै आएको अध्यक्ष अर्यालले बताए ।प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसीको उपस्थितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा ललितपुर महानगर प्रमुख महर्जनले आगामी दिनमा पनि मितेरी पालिकासँग सहयोग आदानप्रदान हुने बताए ।
२० माघ २०८०, शनिबार
प्रतिक्रिया