प्रदेश

भारतबाट तस्करी हुँदै भित्रिएको अवैध बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा



कपिलवस्तु, २७ माघ ।
भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्। तस्करहरूले भारतबाट तरकारी, धान, गहुँलगायतका बिउ र विषादी भित्र्याउँदा जिल्लाका एग्रोभेट व्यवसायी मर्कामा परेका हुन्।

सस्तोमा पाइने भन्दै जिल्लाका अधिकांश कृषक बिउविजन किन्न भारत जाने गरेका छन्। अर्कातर्फ तस्करहरूले पनि भारतबाटै तस्कर गरी बिउविजन र विषादी बेच्दा आफूहरू मर्कामा परेको नेपाल बिउ व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रामचन्द्र मृराउले बताए।

आफूहरूले विभिन्न सरकारी निकायमा दर्ता गरी बैँकबाट ऋण लिएर आफ्नो पसल खोलको र करसमेत तिरेकाले बढी मूल्यमा सामान बेच्नुपरेको उनले बताए। ‘तस्करहरूले सस्तोमा बिउविजन तथा विषादी बेच्ने गरेका छन्’, अध्यक्ष मुराउले भने, ‘तस्करहरूकै कारण हाम्रो व्यापारमा मन्दी छाएको छ।’

तस्करहरूले अहिले तरकारीको बिउ र विषादी भारतबाट ल्याउने गरेका छन्। असार र साउनतिर धान र कात्तिक–मंसिरमा गहँुका बिउ ल्याएर बेच्ने गरेका छन्। जिल्लामा ७० बढी एग्रोभेट रहे पनि ३० वटा मात्र संघमा आबद्ध छन्।

स्रोतका अनुसार तौलिहवामा दुईतीनजना दर्तावाल एग्रोभेट व्यवसायीले भारतबाट तस्करी गरी ल्याइएका बिउविजन तथा विषादी गोदाममा राखेका छन्। उनीहरूले कपिलवस्तु र पहाडी जिल्लामा त्यस्ता बिउविजन पठाउने गरेको स्रोतको भनाइ छ।

भारतीय बिउ किन्दा कृषक ठगिनेसमेत गरेका छन्। त्यस्ता बिउ नउम्रिए त्यसको जिम्मेवारी कसले लिने यसबारे जिल्लाका कृषकसमेत अनभिज्ञ छन। बाली विकास तथा बिउविजन निर्देशनालयमा सूचीकृत भएका बिउ मात्र बेच्ने पाइन्छ। तर जिल्लाका सूचीकृतसमेत नभएका बीउसमेत खुलेआम बिक्री भइरहेको बिउविजन व्यवसायीको गुनासो छ।

अवैधरूपमा ल्याउने बिउविजन रोक्न प्रहरीले नाकामै विशेष कडाइ गर्नुपर्ने बिउविजन व्यवसासीको माग छ। कपिलवस्तु नगरपालिका ४ महुवास्थित मुस्कान सिडका मालिका बृजबिहारी चौधरीले भारतबाट धान र गहँुको बिउको तस्करी हुने गरकाले आफ्नो कम्पनीले उत्पादन गरेका बिउ बिक्न गाह्रो हुने गरेको बताए।

उनले तस्करी रोक्न प्रहरीले विशेष कदम चाल्नुपर्ने बताए। कृषि ज्ञान केन्द्रका अधिकृत महेन्द्र ओझाले भारतीय बिउ नेपाल भित्रिँदा नेपाली बीउविजन व्यवसायी समस्यामा परको स्विकारे। उनले यो समस्या समाधान गर्न आफूहरूले प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताए।

उता प्रहरीले तस्करी गरी भित्राइएका साढे ३७ हजार मूल्यका तरकारीका बिउ मायादेवी गाउँपालिका– १ पकडीबाट बरामद गरेको छ। घिरौँलाका बिउ ५० प्याकेट, पालक र बोडीका बिउ बीस–बीस प्याकेट, भिन्डीको बिउ १० प्याकेट बरामद गरेको हो।

नियन्त्रणमा लिएका बिउ कारबाहीका लागि भन्सार कार्यालय सुठौली, कपिलवस्तुमा पठाइएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। उनले तस्करी नियन्त्रणमा आफूहरू कडाइका साथ लागिपरेको बताए।

प्रकाशित : २७ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६