अर्थ-वाणिज्य

किसानलाई १० करोड तिर्न बाँकी : असोजदेखि दुध बेचेको पैसा पाउन सकेनन्




बुटवल ६ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, शंकरनगरका त्रिलोचन पाण्डेयको गोठमा४ वटा भैँसी छन् । ५२ वर्षीय पाण्डेयले दैनिक झन्डै ६० लिटर दुध तिलोत्तमा–८ मा रहेको कस्तुरी दुग्ध उत्पादक संस्थालाई बेच्ने गर्दछन् ।फागुन १ गतेदेखि संस्थाले दुध लिन छाडेपछि के गर्ने भन्ने अन्योलमा छन् पाण्डे । बिहान बेलुका दुध बिक्री गरेर छोराछोरी पढाउने र घर खर्च चलाउने गरेका पाण्डेयले दुग्ध विकास संस्थान (डीडीसी)ले दुध लिन छाडेपछि स्थानीय संस्थाले दुध संकलन गर्न छाडेको बताए ।
बुटवलस्थित दुग्ध विकास संस्थान लुम्बिनीले ट्याङ्करमार्फत कपिलवस्तुदेखि पूर्व नवलपरासीसम्मका किसानहरूको दुध संकलन गर्ने गर्दछ । किसानहरूसँग स्थानीय सहकारीले दुध संकलन गर्ने र ती सहकारीबाट डीडीसीले दुध ल्याउने गरेको छ ।डीडीसीको संकलन केन्द्र रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम, अमुवा, नवलपरासीको बासा, सुनवल, गुल्मीको वलेटक्सार, कपिलवस्तुको चन्द्रौटा र महाराजगन्जमा छन् । ती संकलन केन्द्रबाट दैनिक १५ हजार लिटरभन्दा बढी दुध संकलन अहिले रोकिएको छ ।
डीडीसी लुम्बिनीले संकलन गरेको दुधमध्ये ३ हजार लिटर आफूले खपत गर्ने र बाँकी चितवन, पोखरा लगायतका निजी उद्योगमा बिक्री गर्ने गर्दछ । पछिल्लो समय तीमध्ये केही उद्योग बन्द रहेको र केही मेसिन बिग्रिएको कारण देखाउँदै डीडीसीले लुम्बिनीका किसानबाट दुध संकलनमा रोक लगाएको हो ।दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहले शुक्रबारदेखि केही परिमाण कटौती गरेर दुध संकलन गरिने रातोपाटीलाई बताए । उनले ८ वटा संकलन केन्द्रमध्ये ४ वटाबाट संकलन गर्न लागिएको जानकारी दिए ।

किसानलाई १० करोड तिर्न बाँकी
रुपन्देहीको कस्तुरी सहकारीले दुग्ध विकास संस्थान, लुम्बिनी बुटवललाई दैनिक ४ सय लिटर दुध पठाउने गर्दछ । किसानसँग खरिद गरेर पठाएको दुधको रकम पाउन भने सकस भइरहेको संस्थाले जनाएको छ ।सरकारी स्वामित्वमा रहेको डीडीसीले केही वर्ष अगाडिसम्म खरिद गरेको दुधको रकम तुरुन्तै दिने गर्दथ्यो । पछिल्लो समय दुधको रकम भुक्तानी बाँकी राख्न थाल्यो । कस्तुरी सहकारीले अहिले डीडीसीसँग ६लाख रुपैयाँ लिन बाँकी छ ।सहकारीका व्यवस्थापक अर्जुन भण्डारीले असोजदेखि पैसा रोकिँदा अहिले ६ लाख रुपैयाँ लिन बाँकी रहेको बताए । उनले भने, ‘हामीले सबै दुध डीडीसीलाई दिँदा समस्या हुन थाल्यो।
महिनौँसम्म रकम रोकिँदा किसानलाई पैसा दिन समस्या भयो ।’पछिल्लो समय सहकारीमा ऋण लिएर आफूहरूले किसानको भुक्तानी गरेको उनको भनाइ छ ।दुग्ध विकास संस्थान लुम्बिनीले कस्तुरी सहकारीजस्ता लुम्बिनीका ६० वटा सहकारीलाई दुधको भुक्तानी दिन बाँकी छ । दुग्ध सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले डीडीसीले भुक्तानी रोक्दा किसानलाई दुधको रकम तिर्न समस्या भइरहेको बताए ।सरकारी स्वामित्वमा रहेको डीडीसीले भुक्तानी रोक्दा किसानहरु मारमा परेको रुपन्देही डेरी व्यवसायी समितिका पूर्व अध्यक्ष गणेशसिंह भण्डारीले बताए ।
दुध व्यवस्थापन गर्ने जिम्मा लिएर बसेकाहरूले नै एकाएक दुध संकलन रोक्ने, उत्पादनको १०÷२० प्रतिशतमात्र दुध संकलन गर्ने गर्दा किसानलाई घाटा हुने गरेको उनले सुनाए ।ठुला फर्म भएका किसानले निजी डेरी उद्योगमा दुध बिक्री गर्दै आएका छन् । साना किसानहरू भने डीडीसीका लागि संकलन केन्द्रका रुपमा रहेका विभिन्न सहकारीमा दुध बिक्री गर्दै आएका छन् । दुध संकलन रोकिँदा र उत्पादन भएका सबै दुधले बजार नपाउँदा साना किसान मारमा परेका छन् ।दुग्ध विकास संस्थान लुम्बिनीका प्रमुख योगेन्द्र शाहले अहिले दुध खरिद गरेबापत १० करोड रुपैयाँ तिर्न बाँकी रहेको ् बताए ।
उनले असोजदेखि माघसम्म विभिन्न दुग्ध उत्पादक किसानलाई भुक्तानी दिन बाँकी रहेको खुलाए । आफूहरूले संकलन गरेको दुध ७५ प्रतिशतभन्दा धेरै पाउडर र मक्खन बनाउन प्रयोग हुने प्रस्ट पारे । पाउडर दुध र मक्खनको सिजन भएकाले अब भने ती वस्तुको बिक्री बढ्ने र किसानको रकम भुक्तानी गर्न सहज हुने उनको अनुमान छ ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६