प्रदेश

मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी



जनकपुरधाम, ०६ फागुन । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए ।

‘सरकारको गतिविधि त्यति सन्तोषजनक छैन । यस्तो सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको पनि मानमर्दन भइरहेको छ । त्यसैले आजको दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय हुन सक्छ,’ दलका नेता यादवले भने ।

यसअघि गत माघ ९ गते जनमत पार्टीले मधेश सरकार छाड्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै एमालेले सरकारलाई समर्थन कायमै राखेकाले आफूहरुलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिन आग्रह गरेको थियो । एमालेले मुख्यमन्त्री यादवलाई दुई पटकसम्म विश्वासको मत दिँदै प्रमुख प्रतिपक्षीको बेन्चमा बस्दै आएको छ ।

जनमत पार्टीले प्रमुख प्रतिपक्षीको बेन्चमा दाबी गरेपछि एमालेले समर्थन फिर्ता लिन लागेको एमालेका एक प्रदेश सभा सदस्यले बताए । ‘आज एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिए प्रमुख प्रतिपक्षी दलको पद गुम्छ । त्यसैले समर्थन फिर्ता लिनैपर्छ । आज १२ बजे बस्ने बैठकमा समर्थन फिर्ताको निर्णय हुन्छ,’ ती प्रदेश सभा सदस्यले भने । एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीले लिने विश्वासको मत विभाजनमा एमाले विपक्षमा उभिने उनको भनाइ छ ।

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् । यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एकरएक र एक स्वतन्त्र सांसद छन् । जनमतले सरकारलाई विश्वासको मत नदिने जनमतका सचिव बीपी साहले बताए ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६