देश

नेपालमा ८६ प्रतिशत परिवारसँग आफ्नै स्वामित्वको घर, अनुदान लिएर घर बनाउने १२ प्रतिशत



काठमाण्डौ, ०४ चैत्र । राष्ट्रिय जनगणना २०७८ को ‘घर र पारिवारिक अवस्थाको प्रतिवेदनको सारांश’ प्रतिवेदनले नेपालमा अहिले धेरै परिवारको आफ्नै घर रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको घरमा बसोबास गरिरहेका छन् भने १२ दशमलव ८ प्रतिशत परिवार भाडामा लिएको घरमा बसोबास गरिहेका छन् । यस्तै झण्डै एक प्रतिशत परिवार सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारको आवासीय एकाइमा रहेका तथ्याङ्कले देखाएको छ ।

प्रतिवेदनअनुसार सहरी परिवारको ठूलो बहुमत अर्थात् ८९ दशमलव ५ प्रतिशत पक्की घर र झण्डै ८ प्रतिशत परिवार अर्धपक्की घरमा बसिरहेका छन् । जनगणनाले १२ प्रतिशत परिवारले घर बनाउनका लागि आंशिक वा पूर्ण अनुदान प्राप्त गरेको देखाएको छ । यो सहयोग हिमालय क्षेत्रमा सबैभन्दा धेरै ३२ दशमलव २ प्रतिशत छ । तराई क्षेत्रमा सबैभन्दा कम ४ प्रतिशत परिवारले मात्रै घर अनुदानबाट बनाएका छन् । प्रादेशिकरूपमा सबैभन्दा बढी बाग्मतीका ३६ र गण्डकी प्रदेशका १७ प्रतिशत परिवारले घर निर्माणमा अनुदान पाएका छन् ।

यस्तै देशभर एक तले घर ६० प्रतिशतभन्दा बढी, दुई तले घर २९ प्रतिशत, तीन तले घर ९ प्रतिशत र चार वा त्योभन्दा बढी तले घर ४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । प्रादेशिकरूपमा मधेश प्रदेशमा ८४ प्रतिशतभन्दा धेरै एक तले घर छन् । यस्तै कोशीमा ६४, लुम्बिनीमा ६३ र कर्णाली प्रदेशमा २९ प्रतिशत घर एक तले छन् ।

प्रतिवेदनअनुसार ३३ प्रतिशत परिवारले बसोबास गरिहेका घरको जग माटोले जडान गरिएको इँटा–ढुङ्गा प्रयोग गरेर बनेका छन् । यस्तै २९ दशमलव ८ प्रतिशत घर सिमेन्ट जडित इँटा–ढुङ्गा र झण्डै २२ प्रतिशत घरको जग ढलान पिलरसहितको छन् । यस्तै ५२ दशमलव २ प्रतिशत घरको बाहिरी गारो सिमेन्ट जडित इँटारढुङ्गाले बनेका छन् । यस्तै ३१ प्रतिशत घर माटो जडित इँटा ढुङ्गा र ११ दशमलव ७ प्रतिशत घरको गारोमा बाँसजस्ता परम्परागत सामग्रीको प्रयोग भएको छ ।

घरको छानोअनुसार ८० प्रतिशत घरमा ग्याल्भेनाइज्ड जस्तापाता अथवा आरसीसी (रिइन्फोस्र्ड सिमेन्ट कङ्क्रिट) छन् । नेपाली घरको झण्डै आधा ४६ दशमलव २ प्रतिशत घरमा माटोको भुइँ प्रचलित रहेको र झण्डै ४७ दशमलव ३ प्रतिशत घरमा सिमेन्ट र प्लास्टर गरिएको प्रतिवेदनमा उल्लेख छ । सिरेमिक टाइल्सको प्रयोग भने झण्डै ३ प्रतिशत घरमा मात्र सीमित छ ।

प्रकाशित : ४ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६