ब्रेकिंग न्युज

रमेश खरेल आफ्नै पार्टीका सभापति माथि यसरी खनिए




काठमाडौं ७ चैत । नेपाल प्रहरीका पूर्वडीआइजी तथा रास्वपाका नेता रमेश खरेलले आफू संलग्न पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेको कटु आलोचना गरेका छन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताको प्रश्न उठाए ।रास्वपामा प्रवेश गरे पनि निष्क्रिय रहेका खरेलले पछिल्लो समय एउटा निजी टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंग उठाएका थिए । महरालाई पक्राउ गरेकोमा खरेलले गृहमन्त्रीलाई धन्यवाद दिए । तर, त्यसपछि उनी गृहमन्त्रीमाथि नै खनिए ।
खरेल भन्छन्, ‘प्रश्न त तपाईंमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसिन हुन मिल्दो कुरा पक्कै थिएन । भइहाल्नुभयो, कुरा अर्कै भयो । जुन दिन तपाईं अनुसन्धानको पवित्र अग्निमा आफैं होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईंले गर्नुभएका यस्ता कर्मलाई स्यावास भनौंला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर ।’यो कार्यक्रम प्रशारण हुनुअघि फेसबुक लाइभमा आएर पनि खरेलले लामिछानेको आलोचना गरेका थिए । उनले प्रधानमन्त्रीसहित सरकारका थुप्रै मन्त्रीहरुको नियुक्तिमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहेको बताए ।
‘अहिले मन्त्रीमण्डलमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भएका मान्छे प्रशस्त छन् । उनीहरुबाट के अपेक्षा गर्ने रु मप्रति नै अनुसन्धान भइरहेको छ, म अहिले सरकारमा जानु हुँदैन भन्ने सोच किन नआएको रु यो मन्त्रिपरिषद्मा प्रधानमन्त्री नै कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा छन् । गृहमन्त्रीमाथि पनि सहकारीमा अनुसन्धान भइरहेको छ । डोलप्रसादजी, महासेठजी, पुनजी सबै कन्फ्लिक्ट अफ इन्ट्रेस्टमा छन्’, खरेलको भनाइ छ ।खरेल अहिले रास्वपाका साधारण सदस्यमात्र हुन् । केहीअघि रास्वपाको जलेश्वर बैठकबाट केन्द्रीय सदस्य बनाउन खोजिँदा खरेलले अस्वीकार गरेका थिए । उनी रास्वपाबाट बारामा भएको उपनिर्वाचनमा उम्मेदवार बनेर पराजित भएपछि पार्टीमा निष्क्रिय छन् ।खरेलको अभिव्यक्ति गम्भीर र चिन्ताजनक भएको रास्वपा महामन्त्री डा। मुकुल ढकालले बताए ।उनले नेपाल प्रेससँग भने, ‘उहाँ जस्तो नेपाल प्रहरीको जिम्मेवार पदमा रहिसकेको र पार्टीमा समेत आवद्ध व्यक्तिले यसरी सत्यतथ्य नबुझी अभिव्यक्ति दिनु दुःखद हो । उहाँ टीआरपीको दौडमा लाग्नुभयो कि जस्तो लाग्छ ।’यो अभिव्यक्तिलाई लिएर खरेलमाथि कारबाही हुन सक्छ र भन्ने प्रश्नमा ढकालले यसलाई अनुशासन समितिले हेर्नसक्ने बताए ।‘अनुशासन समितिमा छलफलको विषय बन्नसक्छ । अनुशासन समितिले सिफारिस गर्‍यो भने कारबाही हुने हो । अहिलेसम्म आधिकारिक रुपमा उजुरी आएको छैन’, उनले भने ।

प्रकाशित : ७ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६