देश

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न २ सय ट्रक उपकरण लगिंदै



काठमाडौं, १८ चैत्र । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कामले गति लिने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तर्गत ‘ड्रिल’ गर्ने मेसिन दैलेखस्थित आयोजनाको साइटमा पुर्‍याउने क्रम सुरु भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । दैलेखको भैरवी गाउँपालिकामा अन्वेषण साइट छनोट भएको छ ।

महानिर्देशक घिमिरेका अनुसार केही ट्रक शुक्रबार सुर्खेत पुगिसकेका छन् । चीनबाट आएका यी उपकरण २ सयभन्दा धेरै ट्रकमा लोड गरिएको छ । उपकरण पुगिसकेपछि ड्रिल गर्ने काम सुरु हुने उनले जानकारी दिए ।

काम सुरु भएको चार महिनामा ड्रिल गर्ने काम सम्पन्न हुने र यसले यो भेगमा कति मात्रामा पेट्रोलियम पदार्थको भण्डार रहेको छ भन्ने यकिन हुने महानिर्देशक घिमिरेले जानकारी दिए ।

चैत २०७२ मा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । माघ २०७५ मा चीनलाई नेपालका दुई क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न २ अर्ब ४० करोड रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग सम्झौता भएको थियो ।

यस समझदारीलाई कार्यान्वयन गर्न चीन र नेपालले संयुक्त कार्ययोजना बनाएका थिए । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रोलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । दोस्रो चरणमा ड्रिल गर्ने र तेस्रो चरणमा सर्भे प्रतिवेदन बुझाउने सहमति भएको थियो ।

कोभिड महामारीका कारण सम्झौता अनुसार काम अगाडि बढ्न सकेन । पछिल्लो समय कामले गति लिने देखिएको छ । ‘उपकरण आइसकेपछि कामले गति लिन्छ,’ महानिर्देशक घिमिरे भन्छन्, ‘चिनियाँ सरकारसँग जीटूजी सम्झौता अनुसार अगाडि भएको यो आयोजना नेपाली अर्थतन्त्रकै लागि कोसेढुंगा सावित हुनेछ ।’ जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।

यसअघि चीनले असोज २०७९ मै पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिल गर्ने स्थान छनोट गरिसकेको छ । चीनबाट आएको प्राविधिक टोलीले ड्रिलिङका लागि १५ मिटरसम्म लामा फलामे पाइप कन्टेनरमार्फत साइटमा लैजानुपर्ने बताएको थियो ।

चीनबाट भारत हुँदै नेपालगञ्ज नाकामा आएका ड्रिलिङ उपकरण अब सुर्खेत हुँदै दैलेख लैजान थालिएको हो । चीनले स्थान छनोट भइसकेपछि ती स्थानको जग्गा अधिग्रहण गरी सरकारले मुआब्जा दिइसकेको छ ।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६