अर्थ-वाणिज्य

सुदुर पश्चिमको सरकारको नेतृत्व गर्न नाउपाका २ सांसदको दावि पेश




धनगढी २ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाटै २ जनाको दाबी परेपछि राजनीतिक अन्योल झन् बढेको छ। केन्द्रमा सत्ता गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीले विपक्षी नेपाली कांग्रेससँग मिलेर रेशम चौधरी पक्षधर नाउपा सांसदको समर्थन गरेपछि समस्या झन् बहुआयामिक बन्न पुगेको छ।नाउपा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका छन्।
नाउपाका ६ सहित नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११ र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीको समर्थन रहेको उनको दाबीपत्रमा उल्लेख छ। यी सबै जोड्दा २८ हुन्छ।नाउपाकै रेशम पक्षधर लक्ष्मणकिशोर चौधरीले कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन प्रस्तुत गरेका छन्।लक्ष्मणकिशोरका पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका रेशम चौधरी पक्षका ४ र राप्रपाका १ जना सांसदको समर्थन देखाइएको छ। यी सबै जोड्दा २७ पुग्छ।यी दुवैजनाले आफ्नो पक्षमा बहुमत देखाएका छन्। ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दाबी पेस गर्दासम्म ५१ सदस्य मात्र कायम थिए।एकजनाको निधन भएकाले वैशाख १५ गते उपनिर्वाचन हुँदै छ। नाउपाकी समानुपातिक सांसद इन्द्रिरा गिरी पार्टीको कारबाहीमा परेर पदमुक्त भएकी थिइन्।

उक्त दाबी प्रस्तुत गर्दासम्म त्यो पद पनि रिक्त थियो। भलै सर्वोच्चले उनीमाथि कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आइतबार साँझ अन्तरिम आदेश जारी गरेको छ। सुदूरपश्चिममा दुवै पक्षको दाबीलाई आधार मान्ने हो भनेचाहिँ सांसद संख्या ५५ पुग्छ। वास्तविक संख्याभन्दा बढीको दाबी परेकाले कसको सही हो भनेर प्रदेश प्रमुखले छुट्याउनुपर्नेछ।त्यसका लागि प्रदेश प्रमुख नजिर मियाँले विभिन्न पक्षसँग परामर्श गरिरहेको स्रोतले बताएको छ। प्रदेश प्रमुख निकट स्रोतका अनुसार उनले कुन सांसदले कता समर्थन गरेको हो भनेर सशरीर सनाखत गर्ने विषयमा पनि राय मागेका छन्। लक्ष्मणकिशोरले एकीकृत समाजवादी र कांग्रेसबाट संसदीय दलका नेताको समर्थनपत्रका साथ दाबी पेस गरेका छन्। तर, उनीसँग आफ्नै संसदीय दलका नेताको समर्थन छैन।नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेता कैलाश चौधरीलाई बनाएकी छन्। कैलास अर्को गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार छन्।यसअघि गौरीशंकर चौधरी संसदीय दलको नेता थिए। गौरीशंकरले हाल लक्ष्मणकिशोरलाई समर्थन गरेका छन्।एकीकृत समाजवादीभित्र पनि एकमत भने छैन।
उता संसदीय दलका नेता दीर्घ सोडारीले कांग्रेस नेतृत्वको गठबन्धनबाट नाउपाका लक्ष्मणकिशोरको पक्षमा हस्ताक्षर गर्दा असन्तुष्ट केही सांसद उजुरी लिएर काठमाडौँमा अध्यक्ष माधव नेपालकहाँ पुगेका थिए।यहीबीचमा सर्वोच्च अदालतले एमाले–माओवादी गठबन्धनका पक्षमा उभिएकी रञ्जिता श्रेष्ठलाई धक्का पुग्ने गरी आदेश जारी गरिदिएपछि सुदूरपश्चिमको सत्ताको गणित कतातिर पल्टिने हो र त्यसले राष्ट्रिय राजनीति कतातिर धकेल्ने हो भन्नेसम्म प्रश्न उब्जाएको छ।

प्रकाशित : २ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६