अन्तर्राष्ट्रिय

नेपाल सरकारले रुद्राबतीको जोडी कतार सरकारलाई उपहार दिदै




चितवन ५ बैशाख । सरकारले खाडी राष्ट्र कतारलाई जोडी हात्ती उपहार दिने भएको छ । आगामी ११–१२ वैशाखमा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइनेछन् । कतार एयरलाइन्सको जहाजमार्फत उनीहरूलाई लगिनेछ ।वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो । त्यतिखेर हात्ती र शाही बाज उपहार दिने प्रतिबद्धता जनाइए पनि कतारले बाज आवश्यक नभएको बताइसकेको छ ।
‘कतारी राजाको नेपाल भ्रमणका क्रममा हस्तान्तरण गर्ने गरी तयारी अगाडि बढाएका छौँ, हात्ती पठाउन समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको छ,’ उनले भने । हात्ती उपहार दिन मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन भने बाँकी छ । कतारमा नेपाली हात्तीका लागि वातावरणीय अवस्था बुझेर नेपाली प्राविधिक टोली फर्किसकेको छ भने कतारबाट पनि लैजाँदा अपाउनुपर्ने प्राविधिक पक्ष बुझ्न टिम आएको थियो । हात्तीको स्याहारसुसारमा कमी नहोस् भनेर कतारले हात्तीको उपचारसँग अभ्यस्त पशु चिकित्सक र माहुते पनि माग गरेको छ । उनीहरूलाई कतार सरकारले आफ्नो देशकै कर्मचारीसरहको सरकारी सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
‘रुद्रकली’को उमेर पाँच वर्ष ६ महिना पुगेको छ भने खगेन्द्रप्रसादको उमेर चार वर्ष सात महिना भएको छ । चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनका अनुसार रुद्रकलीकी आमा पूजाकली र खगेन्द्रप्रसादकी आमा कोशीकली हुन् । दुवैको बुबा भने रोनाल्डो हो । यी दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । तालिमप्राप्त यी हात्ती अहिले यहीँ छन् ।
पुनका अनुसार यी हात्तीलाई कतारको अलखोर चिडियाखाना लगेर प्रदर्शनीमा राखिनेछ । घुम्न आउने आगन्तुकसँग घुलमिल गर्न रुचाउने स्वभावका भएकाले उपहार दिन यी हात्ती छनोट गरिएको हो । यिनलाई राखिने कतारको अलखोर चिडियाखानामा हाल विभिन्न ४९ प्रजातिका तीन सय १५ जीवजन्तु छन् । जहाँ गल्फ, बास्केटबल, स्केटिङलगायत विभिन्न खेलका छुट्टाछुट्टै खेलमैदानसहितको उद्यान छ । पुनका अनुसार भाले हात्ती खगेन्द्रप्रसाद ११ सय ९० केजी र पोथी हात्ती रुद्रकली १२ सय केजीका छन् ।
हात्तीको स्याहारका लागि कतारले हात्तीको उपचारसँग अभ्यस्त पशु चिकित्सक र माहुते पनि माग गरेको छ । यसबापत कतार सरकारले आफ्नो देशकै कर्मचारीसरहको सरकारी सेवा–सुविधा प्रदान गर्ने प्रस्ताव गरेको चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनले बताए । तर, यसबारे निर्णय भने भइसकेको छैन ।

प्रकाशित : ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६