अन्तर्राष्ट्रिय

किन अमेरिकीहरुले धमाधम देश छाडि हिंड्न् थाले ?



एजेन्सी ६ बैशाख । संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश, विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति र विश्वमै सबैभन्दा धेरै देशका मान्छेले जान चाहने देशहरुमध्ये प्रमुख देश । कानूनी र गैरकानूनी बाटो समाएर मान्छेले पुग्न मरिहत्तै गर्ने देश हो अमेरिका ।
यी र यस्ता गतिला पहिचान भएको अमेरिकाका नागरिकहरु भने देश छाडिरहेका छन्, छोडिरहेका छन् । युवा अमेरिकीहरुले देश छोड्ने क्रम बढेको अमेरिकी मिडिया तथा विभिन्न सर्वेक्षणहरुले लेख्न थालेका छन् ।

सामाजिक सुरक्षादेखि राजनीतिसम्मस् जसले अमेरिकीलाई विदेश जान बाध्य गर्छन्
अमेरिकी मिडियाहरुका अनुसार अमेरिकीहरुले देश छोड्नुमा विभिन्न कारण छन् । कोही राम्रो सामाजिक सुरक्षा भएको देश खोजेर जान्छन्, कोही महँगी कम भएको देश । कसैले अमेरिकामा बढ्दो बन्दुक आतंक पनि कारण भनेका छन् । अमेरिका छोड्नेहरुको अर्को रोचक कारण अमेरिकी राजनीतिक तनाव पनि देखिएको छ ।

अमेरिकामा स्वास्थ्य सेवा महँगो छ । स्वास्थ्य सेवा निःशुल्क अथवा सहज भएका देशहरु पनि अमेरिकी नागरिकको विदेशमोहको एक कारण भनिएको छ । अमेरिकी जीवन जिउने खर्च अचाक्ली महँगो हुनु अमेरिका छोड्ने कारणहरुमा एक भएको देखिइएको छ । विभिन्न समयमा भएका विभिन्न सर्वेक्षणहरुले यस्तो देखाएका छन् । खासगरी अमेरिकाको नयाँ पुस्ताले अमेरिका छोड्न चाहेको त्यस्ता सर्वेक्षणहरुले पुष्टि गरेका छन् ।

अमेरिकी विश्व च्यानल सीएनएनदेखि चिनियाँ विश्व च्यानल सीजीटीएनसम्मले अमेरिकीहरुको विदेशमोहको समाचार बनाएका छन् ।

सीएनएनले सात महिना अगाडि किन अमेरिकी परिवारहरु युरोप गइरहेका छन् भनेर समाचार बनाएको थियो । जहाँ पोर्चुगलमा पचास वर्षबाट अलपत्र घर किनेर घरजम गरेर बसेका पेन्सिलभियाका एलन एन्ड्रु दम्पतीलगायतका अमेरिका छोडेर युरोपमा मुकाम बनाएका अमेरिकी नागरिकहरुको कथा भनिएको छ ।

चिनियाँ विश्व च्यानल सीजीटीएनले गतवर्ष एक सामग्री बनाएर अमेरिकीहरुको पलायनको समाचार बनाएको थियो । उसले गालोप सर्वेक्षण सन् २०२२ को उदाहरण दिएर अमेरिकाका १५ प्रतिशत नागरिकहरुले देश स्थायी रुपमा छोड्न चाहेको समाचार प्रकाशन गरेको थियो ।

अमेरिकी मिडिया सीएनबीसीले ६ महिना अगाडि यस्तै समाचार बनाएको थियो । उसले अमेरिकाबाट सन् २०१९ मा मेक्सिको सिटी पुगेर उतै बसोबास गरेकी ३३ वर्षीया अमेरिकी युवती किला मोरानको उदाहरण दिएको छ । मोरानले मेक्सिको शहरमा छरछिमेकको चिनजान र कुराकानी हुने भन्दै मनपरेको बताएकी छन् । सीएनबीसीले सन् २०१९ देखि २०२२ सम्म मेक्सिको सिटीमा बस्न चाहने अमेरिकी आवेदकको संख्या ७० प्रतिशतले बढेको उल्लेख गरेको छ ।

सीजीटीएनसँग कुरा गरेकी अमेरिकाको ओहियोबाट पाँच वर्ष अगाडि पोर्चुगल बसाइ सरेकी महिला तारा मियोले अमेरिका महिलाको लागि असुरक्षित भएको भन्दै आफू शान्ति र सुरक्षा खोज्न पोर्चुगल आएको बताएकी छन् । आफ्ना श्रीमान शिक्षक भएको भन्दै उनले अमेरिकाका विद्यालयमा बढेको गोलीकाण्डको कारण कुन दिन के हुने भन्ने डरमा काम गर्ने बाध्यता भएकोले अमेरिका छोडेको बताएकी छन् ।

उनले अमेरिकाको उदाहरण दिँदै भनेकी छन्, ‘हामीलाई एकअर्कासँग डराउन प्रोत्साहन गरिएको छ । मलाई त्यो ठीक लाग्दैन ।’

यस्तै टेक्ससबाट पोर्चुगल पुगेका अर्ल वाग्नरले आफूलाई गन बोक्नेहरुको कुरा, राजनीतिक तर्क गर्दाका जोखिम र डोनाल्ड ट्रम्प समर्थन गर्ने दक्षिणपन्थी राजनीतिक हावाको कारण टेक्सस डरभर्दो भएकाले आफू सुरक्षित स्थानको खोजीमा एक वर्ष अगाडि पोर्चुगल आएको बताएका छन् ।

एक महिना अगाडि वान्डर अनवार्डस् नामक वेबसाइटमा अमेरिकीले देश छोड्ने १८ ‘घातक’ कारणको चर्चा गरिएको छ । अमेरिकीले देश छोड्ने १८ कारण यस्ता देखाइएको छः

१। गन आतंक
२। महँगो स्वास्थ्य सेवा
३। जागिर र जीवनको असन्तुलन
४। गर्भपतनलगायतका महिला मुद्दामा परम्परावादी कानून
५। धान्नै नसकिने बाँच्ने खर्च
६। रंगभेद र त्यसले ल्याएका अपराध
७। विद्यार्थी ऋण तथा विश्वविद्यालयको महँगो शिक्षा शुल्क
८। खाद्यान्न गुणस्तरमा कमजोरी
९। सन्तान प्राप्तिपछि आमाबाबुलाई बिदाको राम्रो व्यवस्था नहुनु
१०। महँगो डाक्टरी सिफारिस शुल्क
११। कार संस्कृतिले पैदल यात्रा, सार्वजनिक सवारी र दुर्घटनामा पारेको प्रभाव
१२। सम्पत्तिको असन्तुलित वितरण
१३। युरोपसँग जोडिएको शताब्दीऔं पुरानो संस्कृति
१४। ऐतिहासिक ठाउँहरु पुग्ने रहर
१५। पर्याप्त पैदल संस्कृतिको लोभ
१६। विदेशको यात्रामा सहजपना
१७। नयाँ भाषा सिक्ने चाहनाको पूर्णता
१८। बालबालिकाको स्वास्थ्य स्याहारको सहज प्राप्ति
आप्रवासीको देशको पहिचान मेटिने, अमेरिकी सपना फेरिने चिन्ता
अमेरिका आप्रवासीहरुको देश हो । तर, यो अब त्यस्तो नहुन सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । उदाहरणको लागि दुई वर्ष अगाडि सन् २०२२ डिसेम्बर २३ मा एन्ड्रु भानडामले वासिङटन पोस्टमा एक सामग्री लेखे । शीर्षक थियो, ‘किन लाखौं अमेरिकी यी देशमा गइरहेका छन् रु’ उनले सामग्रीको सुरुमै भनेका थिए, ‘सीमान्तमा पुर्‍याइएका अमेरिकी आदिवासीहरुको अपवाद छाड्ने हो भने अमेरिका लामो समयदेखि आप्रवासीहरुको देश हो । तर, पटक पटक यो महसुस हुन्छ कि यो अब देश छोड्नेहरुको देश हुँदैछ ।’

उनले सन् २०२० मा मात्रै अमेरिकामा जन्मेर विदेश पुगेकाहरुको संख्या २८ लाख पुगेको लेखेका छन् । यो अमेरिकी सैनिक, पर्यटक तथा अस्थायी कामदारहरुबाहेकको आँकडा भएको उनले लेखेका छन् । विदेश गएका २८ लाखकै अमेरिकी आँकडा सत्य मान्दा पनि ३४ करोड हाराहारी जनसंख्या भएको अमेरिकाको लागियो ज्यादै ठूलो संख्या भने होइन ।

चार महिना अगाडि अमेरिकी समाचार पोर्टल एक्जिअसले पनि रोचक समाचार बनाएको थियो । समाचारको शीर्षक थियो, ‘केही अमेरिकीको लागि देश छोड्नु नै अमेरिकी सपना हो ।’ परम्परागत मिडियामा मात्रै होइन, नयाँ मिडियाका सामग्रीमा पनि अमेरिकीहरुको देश छोड्ने लर्कोको चर्चा हुन थालेको छ । त्यसको पछिल्लो उदाहरण हो अमेरिकी युट्बुर साइरस जेन्सेनले बनाएको सामग्री । केही दिन अगाडि उनले पोस्ट गरेको ४१ मिनेट ५० सकेण्डको सामग्रीको शीर्षक छ, ‘अमेरिका छोड्नु नै किन नयाँ अमेरिकी सपना भइरहेको छ रु’ उनले सामग्रीमा सन् १९९५ देखि २०१० सम्म जन्मेका अर्थात ‘जेनेरेसन जेड’को आधा हिस्सा अमेरिका छोडेर विदेश पलायनको सोचमा भएको एक सर्वेको आँकडा दिएर प्रस्तुत गरेका छन् ।

जापानदेखि जर्मनीसम्मस् जहाँ जान चाहन्छन् अमेरिकी
अमेरिकी नागरिकहरुले देशको पासपोर्ट अन्त्य गरेर वा स्वदेश बसाइ अन्त्य गरेर जान चाहने प्रमुख देशहरु सबैजसो अमेरिकी महादेश बाहिरका छन् । उत्तर अमेरिकी महादेशबाट क्यानडा छ । दक्षिण अमेरिकाका कुनै देश अमेरिकीहरु जान इच्छुक छैनन् ।

चार महिना अमेरिकी मिडिया सीएनबीसीमा लेखिएको सामग्रीअनुसार अमेरिकीहरुले देश छोडेर जान चाहनेमा अंग्रेजी बोल्न सहज हुनेदेखि सामाजिक सुरक्षा तथा घमाइलो ठाउँहरु छन् । एसियामा जापान र सिंगापुर उनीहरुको रोजाइमा छन् । बाँकी सबै सात देश युरोपका छन् । अमेरिकी जान चाहने युरोपका देशहरुमा बेलायत, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, इटाली, जर्मनी, अस्ट्रिया र आयरल्याण्ड छन् ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६