खोज–अनुसन्धान

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाबीच प्रतिष्पर्धा हुने



लुम्बिनी ६ बैशाख। लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको हो । पेश भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्याङ्कन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था छ । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिष्पर्धाबाट गर्ने बताउँदै आएका छन् । अन्य विश्वविद्यालयमा पनि खुला रुपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउदै रजिष्ट्रार सिफारिसका लागि खुला रुपमा दरखास्त आह्वान गरेका थिए । विश्वविद्यालय ऐनले रजिष्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ ।
रजिष्ट्रार छनौटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा। हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्रा।डा। गितु गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले प्राप्त भएका ९ जनाको दरखास्तमध्ये मापदण्ड पुगेका ७ जनाको नाम मूल्याङ्कनका लागि छनौट गरेको छ । दरखास्तका लागि प्रकाशित सूचनामा रजिष्ट्रार पदका लागि कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्युनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ । कार्यअनुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डिन, डिन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तिमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ । दरखास्तसहित उम्मेद्वारहरुले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
उपकुलपति बज्राचार्यले पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनौट भएको जानकारी दिए । उनीहरुको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याती प्राप्त विज्ञहरु सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्ताङक उपकुलपतिलाई प्रदान गर्नेछ ।रजिष्ट्रारका लागि दरखास्त दिएकामध्ये बर्दघाट नवलपरासीका डा। घनश्याम न्यौपाने, तनहुका प्रा।डा। काजिराम अधिकारी, ललितपुरका डा। गणेश प्रसाद घिमिरे, अर्घाखाँचीका प्रा।डा लालमणि पाण्डे, इलामका प्रा।डा। नरेन्द्र कटुवाल, चितवनका इन्द्रप्रसाद काफ्ले र अर्घाखाँचीका डा। तिलकराम आचार्यको आवेदन स्वीकृत भएको छ । काठमाडौंका डा। गजेन्द्र बहादुर सिंह र कपिलवस्तुका मेघराज आचार्यको आवेदन भने मापदण्डभित्र नपरेको उपकुलपति कार्यालयले जनाएको छ ।उम्मेद्वारहरुको ०८० बैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति बज्राचार्यले जानकारी दिए । मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेद्वारलाई रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गरिने उनले बताए ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६