धनुषा ११ बैशाख ।धनुषामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर घरभित्रै पुरेको ६ महिनापछि खुलासा भएको छ। हत्याको २० दिनपछि उनले घरभित्र गाडिएको शव निकालेर टुक्रा पारी अन्यत्र फालेका थिए।सहिदनगर नगरपालिका ७ नेमुवाटोलकी ५० वर्षीया रेखादेवी ठाकुर गएको कात्तिक १० गतेदेखि बेपत्ता थिइन्। उनी बेपत्ता भएको भन्दै छोराहरूले प्रहरीमा खबर गरेका थिए। त्यसपछि प्रहरीले रेखादेवीको खोजी सुरु गरेको थियो।
तर, बेपत्ता भनिएकी रेखादेवीको उनकै श्रीमान् ५५ वर्षीय सुदीप ठाकुरले हत्या गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए।गत कात्तिक १० गते पत्नी रेखादेवीको हत्या गरी घरभित्रै पुरेर उनी भारततर्फ भागेका थिए। २० दिनपछि फर्केर दाइसँग मिली शव निकालेर फालेको एसपी तिवारीले बताए।
रेखादेवीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् सुदीप ठाकुर र सुदीपका दाइ ६० वर्षीय उदित ठाकुरलाई आइतबार पक्राउ गरेको छ। उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ।त्यसपछि भारत भागेका उनीहरू २० दिनपछि फर्केर आएका थिए। र, कात्तिक ३० गते राति घरभित्रबाट शव निकाली टुक्रा बनाएर नजिकैको कट्टी नदी किनारको झाडीमा फालेर भारततिरै भागेको एसपी तिवारीले बताए।
उनका छोरा २८ वर्षीय मोहन ठाकुरले घर पुगेर हेर्दा भुइँ लिपेको देखेपछि खाल्डो खनी हेरेका थिए। तर, त्यहाँ केही नभेटिएपछि उनीहरू चुप लागेर बसेका थिए।सुदीप र उदित फर्किएपछि छोराले नै सुराक दिएका थिए। मृतकका छोरा मोहन ठाकुरले बुवा र ठूलोबुबा घर फर्किएको सूचना दिएपछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो।
सोधपुछका क्रममा उनीहरूले हत्या गरेको स्वीकार गर्दैै शव गाडेको र पछि निकालेर फालेको स्थान पनि देखाएका थिए। फालिएको ठाउँमा कंकाल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले कर्तव्य ज्यानको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।
कात्तिक १० गते राति १ बजे हत्या गरेर घरभित्रै पुरेको सुदीपले प्रहरीसँगको सोधपुछमा बताएका छन्। कात्तिक ३० गते राति १२ बजे घरभित्र पुरेको शव निकालेर काटेर टुक्राटुक्रा पारी कट्टी नहरको पूर्वपट्टिको खोल्सीमा फालेको बताएका छन्।आइतबार बिहान १० बजेतिर उनीहरूलाई घटनास्थलमा लिएर गएपछि प्रहरीले कंकाल र हत्यामा प्रयोग भएका हतियार बरामद गरेको छ।परपुरुषसँग सम्बन्धको आशंकामा उनले पत्नीको हत्या गरेको बयान दिएका छन्।
यस्तो छ सुदीपको प्रारम्भिक बयान
मेरा ३ बहिनी छोरी र २ भाइ छोरा गरी ५ जना सन्तान छन्। छोरीहरूमध्ये जेठी शोभा ठाकुरको भारतको दरभंगामा विवाह भएको छ। माइली छोरी दीपा ठाकुरको बिर्ता डरखोरियामा विवाह भएको र कान्छी छोरी रूपा ठाकुर सखुवा दोनवारी टोलमा विवाह भएको थियो।
जेठो छोराको विवाह भइसकेको छ, कान्छाको विवाह भएको छैन। छोराहरू जनकपुरस्थित सीताचोकमा कोठा भाडामा लिएर मजदुरीको काम गरी बस्दै आएका छन्।कहिलेकाहीँ घरमा आउँछन्। हामी श्रीमान्–श्रीमती घरमा राम्रैसँग बस्दै आएका थियौँ। पहिले त हाम्रो सम्बन्ध पनि राम्रै थियो।
घरको आर्थिक अवस्थाको कारण १० वर्ष मलेसियामा काम गरेर म फर्किएको थिएँ। विदेशबाट फर्किएको पनि १५ वर्ष भइसक्यो। विदेशबाट फर्किएर सुुरुमा गाउँमै साइकल पसल खोलेको थिएँ। पछि घर बनाउन थालेँ। आफू घर बनाउनतिर लाग्दा पसल राम्रो चल्न छाड्यो र बन्द गर्नु पर्ने अवस्था भयो।
त्यसपछि गाउँघरमै फर्निचरको काम गर्दै बसिरहेको थिएँ। त्यसैको आम्दानीले घरखर्च टारिरहेको थिएँ।श्रीमती रेखादेवी ठाकुर धेरै जसो छोरीहरूकै घरमा बस्थिन्। उनी छोरीहरूकोमा बस्न पालैपालो जान्थिन्। धेरैजसो कान्छी छोरीकोमा बस्थिन्। म काममा जान्थेँ, श्रीमती अर्कै पुरुषसँग नजिक भएको चाल पाएँ।
त्यो थाहा पाएपछि मैले धेरै सम्झाएँ। त्यसपछि मैले श्रीमतीलाई कोरारी पोखरी नजिकको साइकल पसलमा राखेको थिएँ। त्यहाँ राखेपछि पनि उनको बानीमा सुधार आएन। उनलाई अर्कै पुरुषसँग फेला पारेँ। गाउँमा दुवै जनालाई कुटपिट गरेर सम्झाइबुझाई गरी त्यसपछि पनि आफैँसँग राखेको थिएँ।
यहीबीचमा मेरी कान्छी छोरीको मृत्यु भयो। त्यता तिरबाट पनि उनको बारेमा राम्रो सुनिनँ। त्यसपछि पनि मैले उनलाई सम्झाइबुझाई गरेँ।मेरो र श्रीमतीको जतिबेला पनि झगडा परिरहन्थ्यो। हाम्रो सम्बन्ध बिग्रँदै गएको थियो। उनले बुहारीलाई पनि राम्रो गरिनन्। घरमा तनाव बढिरहेको थियो।
हाम्रो घरमा ऋण पनि थियो। ऋण तिर्न पनि छोराहरूले सहयोग गरेनन्। घरजग्गा बेचेर अरु ऋण तिरेँ। ५र६ लाख रुपैयाँ तिर्न बाँकी थियो। ऋणको तनावले मलाई निद्रा लागेको थिएन। छोरालाई विदेश पठाएपछि घर खर्च उसले हेरेको थियो। घरजग्गा बेचेर ऋण तिर्नु पर्दा मलाई साह्रै पीर लागेको थियो।
कात्तिक १० गते राति पनि श्रीमती र मेरो झगडा परेको थियो। घरमा हामी दुई जना मात्रै थियौँ। दिउँसो दाउरा चिरेर राखेको बन्चरो नजिकै थियो। रिसको आवेगमा मैले त्यसैले हानेर उनको हत्या गरेँ। श्रीमतीको घटनास्थलमै मृत्यु भयो।
रातभरि म निदाउन सकिनँ। भोलिपल्ट बिहान घरभित्रै ५ फिट ५ इन्च जतिको खाल्डो खनी पुरिदिएँ। अनि घटनाको बारेमा दाजु उदितलाई जानकारी गराएँ। दाजुले सुरुमा मलाई किन यस्तो गरेको भनेर गाली गर्नुभयो। तर, त्यसपछि हामी दाजुभाइ नै भारतमा गएर काम गर्न थाल्यौँ। श्रीमतीको शवको बारेमा चिन्ता लागेर काम गर्न खासै मनै लागेन। घटनाको २० औँ दिन कात्तिक ३० गते हामी दाजुभाइ नै घर आयौँ।
श्रीमतीको शव गाडेको ठाउँमा हेर्दा गन्ध आइरहेको थियो। त्यसपछि राति १२ बजेतिर खाल्डोबाट शव निकालेर टुक्राटुक्रा पा¥यौँ। अनि, २ वटा बोरामा दाजु भाइले लगेर नेमुवाटोल धबौली कट्टी सिँचाइको पारी खोल्सामा बोराबाट १र१ वटा टुक्रा निकालेर छरेर फाली दियौँ।त्यसपछि घर फर्किएर दाजुभाइले नै खाल्डो पु¥यौँ। सबै कोठाहरू राम्रोसँग लिपपोत गररेर नुहाइधुवाइ ग¥यौँ। अनि साइकलमा म कम्लैया बहिनीको घर गएँ।
त्यहाँ साइकल राखेर टेम्पो चढेर भारतको जयनगर रेल्वे स्टेसन गएर साँझको सवा ५ बजे रेल चढेर दिल्ली गएँ। दिल्लीमा गएर भाँडा बनाउने कम्पनीमा काम गरेँ। त्यो कम्पनीमा काम गर्न मन नलागेपछि दाजुभाइ नै डेढ महिनापछि नेपाल भारतको सिमानामा आएर काठको काम गर्दै आएका थियौँ।
मैले श्रीमतीको हत्या गरेको एक महिनापछि मंसिर ७ गते छोराबुहारी घर पुगेका रहेछन्। घरमा ताल्चा लागेको देखेपछि गाउँमा सोधेछन्।गाउँलेले छोरीहरूको घरमा गएको हुनसक्ने बताइदिएका रहेछन्। पहिला पनि हामी छोरीहरूको घरमा बस्दै आएका थियौँ। तर उनीहरूले घरको ढोका खोलेर हेर्दा घर लिपपोत गरेको देखेपछि उनीहरूलाई शंका लागेको रहेछ।
छोराले प्रहरी बोलाएर घरभित्र खनेको स्थान देखाएछ। उनीहरूले लिपपोत गरिसकेको त्यो स्थानमा खनेर हेरेछन्। तर केही पनि फेला परेन।अनि हामी दुवै भारततिर गएको हुन सक्ने लागेर वास्ता नगरी बसेका थिए। तर आइतबार मलाई र दाजुलाई सँगै भेटेपछि उनले आमा सोधे। हामी केही पनि बोलेनौँ। त्यसपछि शंका लागेर प्रहरीलाई खबर गरेछन्। अनि, हामीलाई पक्राउ गरेर प्रहरीले ल्याएको हो।
प्रतिक्रिया