काठमाडौं १ जेठ । अनलाइन टाइपिङको जागिर लगाइदिने भन्दै किशोरीहरूलाई पोर्न एपको नग्न च्याट धन्दामा लगाउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्ट्रिप च्याट नामक एप मार्फत अश्लील च्याट गर्न लगाएको आरोपमा एक युवतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोल घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्दै आएकी १९ वर्षीय अञ्जली अधिकारी रहेकी छिन् । कार्यालयका अनुसार आरोपित अधिकारी आर्थिक हिसाबले विपन्न परिवारका किशोरी तथा यवतीहरूलाई अनलाइन टाइपिङको जागिर दिने प्रलोभमा पार्थिन । त्यसमा राम्रो तलब हुने भनेर उनी विश्वस्त पार्थिन् । त्यसपछि उनीहरूलाई स्ट्रिप च्याटमा अकाउन्ट बनाइदिन्थिन् ।
स्ट्रिप च्याटको पूरा नाम ‘Strip Chat: Free Live Sex Cams and Adult Chat with Naked Girls’ ’ रहेको छ । अर्थात् त्यसमा विभिन्न किसिमका ग्राहक आउँछन् । र, क्यामेरामा देखिएर ग्राहकले भने अनुसारका अश्लील हर्कत गर्नुपर्ने हुन्छ ।यसरी लाइभ भिडिओ च्याटमा बसेर स्ट्रिप च्याटका ग्राहकले भने अनुसार कुराकानी गर्न लगाउँथिन् । नाबालिकाहरूले जति बढी कुरा गर्छन्, उनीहरूले त्यति नै बढी टोकन पाउथे । यसरी बालिकालाई युवतीले अश्लील हर्कत गर्न लगाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
उनको साथबाट फोन, ल्यापटप, वेब क्यामेरा र चार थान पारदर्शी कपडा बरामद गरिएको छ । यस्ता कपडा उनी आफूसँग सम्पर्कमा आएका युवतीलाई उपलब्ध गराउँथिन् । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ती युवतीका पछाडि उनका प्रेमी भारतीय युवक रहेको खुलेको छ । उनको अहिले खोजी कार्य भइरहेको रेग्मीले सुनाए । पक्राउ परेकी युवतीलाई भने ‘बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३’ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रतिक्रिया