अर्थ-वाणिज्य

लुम्बिनीको विकासका लागि १२ बुदे योजना प्रस्ताव




भैरहवा, १ जेठ ।लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन समितिले लुम्बिनीको संरक्षण तथा विकासका लागि १२ बुँदे योजना प्रस्ताव गरेको छ । समितिले गरेको अध्ययन प्रतिवेदन प्रस्तावमा यस्ता योजना पेस गरिएको छ ।लुम्बिनी विकास कोषद्वारा वैशाख ६ गते गठित सो अध्ययन समितिले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भएका अनियमित क्रियाकलापलाई व्यवस्थित गर्नेगरी तत्काल कार्यान्वयन गर्न १२ बुँदे योजना कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईलाई बुझाएको हो ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दिन खानले लुम्बिनीको पवित्रता र सम्पदास्थलको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार प्रतिवेदनमा विश्व सम्पदा सूचीमा सूचीकृत मायादेवी मन्दिरलाई अनधिकृत फेरबदल वा पुनर्निर्माणबाट जोगाउनुपर्नेमा जोड दिइएको छ । समितिका अर्का सदस्य मेघनाथ आचार्यले यसबाहेक समितिले धार्मिकस्थलमा आध्यात्मिक अभ्यासहरू प्रवर्द्धन गर्न नियमित पूजा उपासनाको कार्यक्रमहरू प्रस्ताव गरेको बताउनुभयो । संवत् २०६२ को रिट नं. २४५४ उत्प्रेषणयुक्त प्रतिशोध परमादेश मुद्दामा भएको सर्वोच्च अदालतको आदेशबमोजिम मायादेवी मन्दिर प्रवेश शुल्क हटाउने गरी आम्दानीका वैकल्पिक उपाय खोज्न बुँदा नं. ६ मार्फत समितिले सुझाव दिएको छ ।
त्यसैगरी, लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पञ्चशीलका सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्न पनि लुम्बिनी विकास कोषको कार्यकारिणी समितिलाई सिफारिस गरेको छ ।

ध्वनि प्रदूषण न्यूनीकरणका लागि समितिले गुरुयोजना क्षेत्रभित्र ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने र ठुला सवारी साधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसले स्थानीय लुम्बिनी सांस्कृतिक नगरपालिकालाई आम्दानीको १० प्रतिशत रकम सामुदायिक विकासका लागि विनियोजन गर्न सिफारिस गरेको छ ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बुद्धजन्मस्थल लुम्बिनीको संरक्षण तथा प्रवर्द्धनका लागि अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा लुम्बिनीको दिगो विकास र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६