कपिलवस्तु, १० जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा २२ दिने स्कुल ब्याग तथा लेडिज ब्याग बनाउने तालिम सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा सीप तथा क्षमता विकास कार्यक्रम अन्तर्गत महिलाहरुका लागि उक्त तालिम प्रदान गरिने बताईएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लक्ष्मण बेल्बासेले स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बेल्बासेले सीप सिकेर रोजगार तथा स्वरोजगार सृजना गरि बजारीकरणमा समेत सहयोग गर्ने महासंघको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
विशिष्ठ अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका सदस्य निशा परियारले यस्ता खालका सीप विकास तालिमले महिलाहरुको आर्थिक स्तर माथि उठ्ने आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा मात्र सिमित नभई सिकेको सीपलाई सदुपयोग गरि रोजगार तथा स्वरोजगारमा जोडिन आग्रह गर्नुभयो ।
तालिममा विशेष गरि विद्यालयका लागि बोक्ने झोला र महिलाहरुले प्रयोग गर्ने झोला बनाउने तालिम प्रदान गरिनेछ । तालिमको प्रमुख प्रशिक्षकको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ३ बाट प्रतिमा पन्त हुनुहुन्छ भने सहायक प्रशिक्षकको रुपमा रेखा चौधरीले प्रशिक्षण प्रदान गर्ने महासंघ कपिलवस्तुका अध्यक्ष फुलकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका अध्यक्ष फुलकुमारी श्रेष्ठले मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने मुल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघले विभिन्न लक्षित वर्गका लागि सीप विकास तथा क्षमता विकास तालिमहरु प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताउनुभयो ।
सहभागीहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा कपिलवस्तुका महा–सचिव रविन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया