कपिलवस्तु, १६ जेठ । बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले महिला सशक्तिकरणको महिलाहरूमा विभिन्न सीपको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । सीपको माध्यम बाट आर्थिक उपार्जन गर्दै आत्मनिर्भर हुन सके मात्र महिलाहरू हरेक क्षेत्रमा माथि उठ्न सक्ने बताउनुभयो ।
बुधवार देखि कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको ५ दिने बाटेको धुप बनाउने तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हा । साथै उहाँले तालिम प्रमाणपत्रको लागि मात्र नबनाउने समेत आग्रह गर्नुभयो । ५ दिन सम्म सिकेको सीपलाई व्यवहारमा लागू गर्न सके तालिमले सार्थकता पाउने बताउनुभयो ।
त्यस्तै कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) गृहणी महिलाहरूका बचेको समयलाई सदुपयोग गर्दै सीपको माध्यम बाट आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । तालिम प्रभावकारी बनेमा नगर सँगै जिल्लाका अन्य ठाउँमा पनि सञ्चालन गरिने उहाँले जानकारी गराउनुभयो ।
२० जनाको सहभागिता रहेको तालिममा सहभागी महिलाहरूले तालिम उपलब्धिमूलक हुने भन्दै आयोजकलाई धन्यवाद समेत दिएका थिए । जेठ १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने तालिमको प्रशिक्षकको रुपमा पुष्पा अधिकारी रहनुभएको छ ।
कार्यक्रमकी संयोजक नमूना पौडेलको अध्यक्षता, माधव भाट क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा संघका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया