प्रदेश

बुटवल बजारमा महिला कालिगड अभाव



बुटवल, २२ जेठ । बुटवल बजारमा सुनचाँदीका गरगहना बनाउने महिला कालिगडको अभाव छ । बुटवलमा रहेका करिब दुई सय सुनचाँदीका पसलमा मुस्किलले दुई तीन जना मात्र महिला कालिगड रहेका बुटवल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

बुटवलको सुनचाँदीको बजार भारतीय कालिगडमा निर्भर छ । भारतको कोलकाता, लखनउलगायतका क्षेत्रबाट आएका कालिगडले गरगहना बनाएको ज्याला बढी लिने गरेको सुनचाँदी व्यवसायीले गुनासो गरेका छन् ।

बुटवलका युवाले सुनचाँदी बनाउने काममा त्यति रुचि नदेखाएपछि बुटवल सुनचाँदी व्यवसायी सङ्घ र बुटवल उपमहानगरपालिकाले सुनचाँदी बनाउने काममा महिला कालिगडलाई प्रोत्साहन गर्न तीनमहिने तालिम आयोजना गरेको छ । महिलालाई सुनचाँदीका गरगहना बनाउने तालिम दिएर सिपमा जोड्ने र महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुनचाँदीका गरगहना बनाउने तालिम दिएको बुटवल सुनचाँदी व्यवसायी सङ्घ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा प्रशस्त काम भएर पनि तालिमको अभावमा यहाँका महिलाले काम नपाउने अवस्था देखिएपछि कालिगड तालिम दिइएको बताउनुभयो ।

बुटवलका बेरोजगार युवालाई सिपसँग जोडेर उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताउँदै बुटवल नगर प्रमुख पाण्डेले खास गरी महिलालाई तालिम दिन सकेको अवस्थामा उनीहरूलाई आत्मनिर्भर बनाउन सकिने भएकाले सिपमूलक तालिम प्रदान गरिएको बताउनुभयो ।

तालिम लिइरहेका महिलाले पनि सुनचाँदीका गरगहना बनाउन सिकेर बुटवलकै पसलमा काम गरी आत्मनिर्भर बन्ने बताएका छन् । बुटवल योगीकुटीकी सावित्रा गजमेरले सुनचाँदीका गरगहना बनाउने तालिममा सहभागिता जनाउनुभएको छ । सुनचाँदीका गरगहना बनाउने काम पुरुषले मात्रै गर्छन् भन्ने अहिलेसम्मको धारणा तोड्दै महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने यो तालिम लिएपछि देखाउने सावित्राको सपना छ । पहिला सिप सिक्नु प¥यो, सिप भएपछि महिलाहरू जहाँ गएर पनि सिप अनुसारको काम गर्न सक्छन् भन्ने विश्वास यो तालिमले दिलाउने सावित्राको विश्वास छ । त्यही भएर उहाँले सिप सिकेर सकिएपछि सुनचाँदीको पसलमा काम गर्ने बताउनुहुन्छ ।

त्यसै गरी बुटवल देवीनगरकी शान्ति स्वर्णकार पूर्वशिक्षक हुनुहुन्छ । उहाँले सुनचाँदीकै गरगहना बनाउन सिक्ने र आफ्नै पसल चलाउने अभियानका साथ अहिले तालिममा सहभागी हुनुभएको छ । तालिम लिएपछि उहाँमा सुनचाँदीको पसल चलाउन र आफैँले पनि तालिम लिँदा आवश्यक परेका बेला आफैँ पनि गरगहना बनाउन सक्ने भएपछि सानो सानो कुरामा पनि अरूको मुख ताक्नु नपर्ने र त्यसबाट व्यावसायिक बन्न सहयोग पुग्ने धेरै ठुलो विश्वास छ । महिलाले पढेर मात्र हुँदैन, पढाइ अनुसारको जागिर पाइएन भने सिप सिकेको अवस्थामा काम पाइने र त्यसबाट आत्मनिर्भर बन्न सकिने उहाँमा दृढ विश्वास छ ।

प्रशिक्षक सविता विकका अनुसार काम गर्न चाहने महिलाका लागि अवसर पनि छ । बजारमा महिला कालिगड नभएकाले तिनको सम्भावना बढी छ । उहाँले २० महिलाले अहिले सुनचाँदीका गरगहना बनाउने तालिम लिइरहेको बताउनुभयो ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६