प्रदेश

लुम्बिनी प्रदेशमा १ अर्ब १२ करोड ६३ लाख बेरुजु



कपिलवस्तु, २४ जेठ । लुम्बिनी प्रदेश सरकारको बेरुजु १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखा परीक्षक कार्यालयका नायब उपमहानिर्देशक घनश्याम कोइरालाले लुम्बिनी प्रदेशका सरकारी, सङ्घसंस्था तथा स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा प्रदेशका विभिन्न निकायको विवरण, लेखा परीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखा परीक्षणबाट देखिएको समष्टिगत स्थिति, लेखा परीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति र भविष्यमा गर्नुपर्ने सुधारलाई समावेश गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

प्रतिवेदनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहको लेखा परीक्षणबाट देखिएका संक्षिप्त ब्यहोरा समेत समावेश गरिएको छ ।

महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदनमा यो वर्ष प्रदेश मन्त्रालय तथा निकायसमेत २६७ (सङ्घीय कार्यालयलाई अख्तियारी दिइएका कार्यालयहरू समेत) को ५० अर्ब २ करोड ८२ लाख ११ हजार र २२ समिति र अन्य संस्थाको ७ अर्ब ८८ करोड ७७ लाख १८ हजारसमेत गरी ५७ अर्ब ९१ करोड ५९ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा प्रदेशको सरकारी कार्यालय र समिति तथा अन्य संस्थाको २०७९/८०० फर्स्यौट गर्नुपर्ने बेरुजु १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैयाँ छ । लेखा परीक्षणका क्रममा प्रदेश मन्त्रालय र समिति तथा अन्य संस्थासमेत २८९ निकायको ५७ अर्ब ९१ करोड ५९ लाख २९ रुपैयाँको लेखा परीक्षण सम्पन्न गरिएकोमा १ अर्ब १२ करोड ६३ लाख ४६ हजार रुपैयाँ बेरुजु कायम भएको हो ।

हालसम्मको बाँकी बेरुजुमा प्रदेश सरकारी कार्यालय समिति तथा अन्य संस्थाको लेखा परीक्षणबाट औँल्याइएको बाँकी बेरुजु ४ अर्ब २ करोड ९ लाख ६९ हजार रुपैयाँ छ । हालसम्मको बाँकी बेरुजु गत वर्षभन्दा ३१.४८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी प्रदेशका मन्त्रालयहरूमध्ये सर्वाधिक बेरुजु रकम भौतिक पूर्वाधार मन्त्रालयको छ । दोस्रोमा खानेपानी तथा सहरी विकास मन्त्रालय, तेस्रोमा सामाजिक विकास मन्त्रालय र चौथोमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय रहेको नायब उपमहानिर्देशक घनश्याम कोइरालाले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रत्येक वर्ष बेरुजु वृद्धि हुनु चिन्ताको विषय भएको बताए । उनले खर्च कम देखिने मनोविज्ञानले जेठ, असार महिनामा काम गर्न हतार गर्नुपर्ने भएकाले त्यो बेलामा गुणस्तर पनि कमसल खालको हुने बताए ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६