बुटवल, ३१ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालसँग भेट गरी बिरामीको उपचारमा सहजताका लागि आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रादेशिक अस्पतालमा ब्लड बैङ्क खोल्न सकिने धेरै सम्भावना रहेको बताउँदै ब्लड बैङ्क स्थापना भयो भने बिरामीले छिटोभन्दा छिटो उपचार सेवा पाउने बताउनुभयो ।
अध्यक्ष क्षेत्रीले एक सय शय्या भएका अस्पतालले आफ्नै ब्लड बैङ्क खोल्न पाउने प्रावधान रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालले ब्लड बैङ्क स्थापना गर्न माग गरेको बताउनुभयो ।
बुटवलमा नेपाल रेडक्रस सोसाइटीको व्यवस्थामा रहेको ब्लड बैङ्कले बिरामीका लागि आवश्यक पर्ने रगतको माग धान्न नसकेकाले अस्पतालको आफ्नै ब्लड बैङ्क स्थापना गर्न रक्तदाता समाजले माग गरेको हो । रक्तसञ्चार नीति २०७१ मा नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत ब्लड ब्युरो गठन गरी रक्तजन्य कार्यको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारी अस्पताललाई दिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले नेपाल स्वयंसेवी रक्तदाता समाजले धेरै राम्रो विषय उठान गरेको भन्दै यस विषयमा पहिले पनि छलफल भएको र अब छिट्टै जनशक्ति व्यवस्थापन गरी काम गरिने बताउनुभयो ।
प्रतिक्रिया