ब्रेकिंग न्युज

सवारीसाधन किन्न सामुदायिक विद्यालयलाई अनुदान



रुपन्देही, ०३ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयलाई पालिकाले सवारीसाधन सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारीसाधन खरिद गर्न ५० प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो । २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु गरिएको हो । हालसम्म मावि तहका १५ वटा विद्यालयलाई १० लाखका दरले पालिकाले रकम उपलब्ध गराएको छ । यो ५० प्रतिशत रकम हो ।

पालिकाभित्र आधारभूत तथा मावि तहका ४२ वटा सामुदायिक विद्यालय छन् । बाँकी रहेका विद्यालयलाई क्रमशः रकम वितरण गरिने पालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गङ्गाराम आचार्यले मावि तहका विद्यालयलाई रकम वितरण गरेपछि आधारभूत तहका विद्यालयलाई क्रमशः वितरण गरिने उल्लेख गर्नुभयो । नगरभित्र दुई वटा गुरुकुल आवासीय विद्यालय पनि छन् ।

नगरपालिकाले सवारीसाधन खरिद गर्न अनुदान रकम उपलब्ध गराएका विद्यालयलाई हरेक वर्ष एक लाखका दरले तेल खरिद गर्नसमेत रकम उपलब्ध गराउने गरेको आचार्यले बताउनुभयो । तेल खरिद गर्न यो रकम पर्याप्त भने नभएको विद्यालयले जनाएका छन् । गौतम बुद्ध मावि तिलोत्तमाका प्राचार्य मृगेन्द्रप्रसाद रिजालले नगरपालिकाले उपलब्ध गराएको एक लाख रकम पर्याप्त नभए पनि केही महिनालाई सहयोग पुग्ने बताउनुभयो । यो अनुदानको कार्यक्रमले नगरको शैक्षिक विकासमा मद्दत पु¥याएको उहाँले उल्लेख गर्नुभयो । तिलोत्तमाका आधारभूत तहका विद्यालयले भने इरिक्सा सञ्चालन गरिरहेका छन् ।

विश्व शान्ति सामुदायिक आधारभूत विद्यालयका प्राचार्य डोलराज पाण्डेले आधारभूत तहका विद्यालयलाई पनि सवारीसाधन सञ्चालनका लागि अनुदान रकम उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । मावि तहका विद्यालयलाई दिइने तेल खर्च आधारभूत विद्यालयलाई पनि उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । आधारभूत तहका विद्यालयलाई खर्च व्यवस्थापन गर्न कठिन रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षमा तिलोत्तमाका मधवलिया मावि र बरबलिया माविलाई सवारीसाधन खरिद गर्न रकम उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ । नगर कार्यपालिकाको बैठकले हरेक वर्ष विद्यालयमा विद्यार्थीको चाप र आवश्यकता हेरेर उक्त रकम उपलब्ध गराउँदै आएको छ । हालसम्म सवारीसाधन खरिद गर्न र तेल खर्चबापत तीन करोड रकम वितरण गरिसकेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : ४ असार २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६