प्रदेश

दुई वर्षदेखि वायु प्रदूषण मापन केन्द्र बन्द



घोराही, ०६ असार । दाङमा वायुको गुणस्तर मापनका लागि छ वर्षअघि स्थापना भएको वायु प्रदूषण मापन केन्द्र बिग्रिएर थन्किएको छ ।

वातावरण विभागले एक करोड २५ लाखको लागतमा २०७५ साल जेठ महिनामा घोराही उपमहानगरपालिका–२, रामपुरमा केन्द्र स्थापना गरेको हो । वायु प्रदूषण मापन केन्द्रको उपकरण बिग्रिँदा दुई वर्षदेखि जिल्लाको वायु गुणस्तरको जानकारी आउन सकेको छैन ।

घोराही उपमहानगरपालिका–२, रामपुर निवासी चित्रबहादुर चौधरी सिमेन्ट उद्योग, पुराना सवारीसाधनलगायतका विभिन्न उद्योगका कारण हुने वायु प्रदूषण मापनका लागि स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्र बिग्रिँदा जिल्लामा वायुको गुणस्तर मापन हुन नसकेको बताउनुहुन्छ । सिमेन्ट उद्योगका कारण जिल्लामा वायु प्रदूषण बढेको जनगुनासो बढेपछि वायु प्रदूषण मापनका लागि केन्द्र स्थापना भए पनि बिग्रिँदा समस्या भएको बताउनुहुन्छ ।

वायुको गुणस्तरको मात्र थाहा पाउन सके त्यस अनुसारका कार्यक्रम चलाउन सकिने भए पनि केन्द्र नै बन्द हुँदा जनता समस्यामा परेको चौधरीको भनाइ छ । उहाँले भन्नुभयो, “सिमेन्ट उद्योगलगायतका अन्य उद्योग तथा सवारीसाधनका कारण वायुमा परेको असर मापन हुन आवश्यक छ । त्यसका लागि बिग्रिएको उपकरण बनाउन आवश्यक छ ।”

वायु प्रदूषण मापन केन्द्रको जिल्लामा रेखदेख र निगरानी गर्ने जिम्मेवारी छैन । विभागबाटै आएर हेर्ने व्यवस्था रहेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउनुहुन्छ ।

उपकरण बिग्रँदा जिल्लाको वायु गुणस्तरको अवस्था के छ भनेर मापन हुने गरेको छैन । मापन केन्द्रले हावामा रहेका मसिना धुलोका कण तथा ग्यासको मात्राको विश्लेषण हरेक मिनेटमा दिन्छ । वायु प्रदूषण मापन केन्द्रको ब्याट्रीलगायतका उपकरणमा समस्या हुँदा बन्द रहेको उल्लेख गर्दै आउने दसैँसम्म बनाएर सञ्चालन गर्ने तयारीमा रहेको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । मर्मतसम्भारका लागि बजेट विनियोजन भइसकेकाले आगामी आर्थिक वर्षबाट दाङसहित देशका अन्य स्थानमा बिग्रिएका वायु मापन केन्द्रको समेत मर्मत गर्ने गरी विभाग तयारीमा रहेको वातावरण निरीक्षक लामिछानेले जानकारी दिनुभएको छ ।

केन्द्र स्थापना भएको क्षेत्रको हावालाई तानेर धुलो, धुवाँ र ग्यासको मात्रा विश्लेषण गर्ने र यसरी वायुमण्डलमा रहेको वायु प्रदूषणको मात्रालाई वायु गुणस्तर सूचकाङ्क पिएम–१, पिएम–२.५ र पिएम–१० मा विश्लेषणलाई माइक्रोग्राम प्रतिघनमिटरमा मापन गर्दछ । जसबाट वायु गुणस्तर मापन केन्द्र क्षेत्रमा रहेको वायु प्रदूषणको मात्रा तत्काल थाहा पाउन सकिने वातावरण निरीक्षक लामिछाने बताउनुहुन्छ । दाङको रामपुरमा रहेको वायु प्रदूषण मापन केन्द्रको उपकरण बिग्रँदा वायु प्रदूषण नियन्त्रणका कार्यक्रममा समेत प्रभाव परेको छ ।

दाङमा स्थापना गरिएको वायु प्रदूषण मापन केन्द्रले त्यस ठाउँको हावा पम्प गरेर भित्र तान्ने र त्यहाँ प्रदूषण कति छ भनेर मापन गर्ने भए पनि बिग्रिँदा मापन गर्न नसकिएको लामिछाने बताउनुहुन्छ । जिल्लामा पछिल्लो समय वायु गुणस्तरको अवस्था कस्तो छ भन्ने समेत थाहा नपाउने अवस्था रहेको रामपुर निवासी स्थानीय लक्ष्मी पोख्रेल बताउनुहुन्छ ।

सिमेन्ट, इँटालगायत उद्योगका कारण दिनहुँ वायु प्रदूषण भइरहेको छ तर यसको मापन नै हुन नसकेको पोख्रेल बताउनुहुन्छ । सिमेन्ट उद्योगको धुवाँ तथा धुलो प्रदूषणका कारण स्थानीयमा आँखा चिलाउने, खोकी लाग्ने जस्तो समस्या भइरहने स्थानीय बताउँछन् । जसले गर्दा धेरैमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गरेको छ ।

प्रकाशित : ७ असार २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६