काठमाण्डौ, १५ असार । आज राति गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय रहेकोले देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला र कोशी प्रदेशका पूर्वी जिल्लाका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । बाँकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
मध्य र पूर्वसहित देशका धेरै ठाउँमा गए रातिदेखि आज दिउँसोसम्म नै ठूलो पानी परेको छ । दिउँसो धेरैजसो ठाउँमा वर्षा कम भएकोमा राति पुनः बढ्ने मौसमविद् लामिछानेले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा विशेषगरी बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ । पाल्पाको बल्ढ्याङगढीमा २४ घण्टामा झन्डै दुई सय ३८ मिलिमिटर पानी परेको छ । यस्तै २४ घण्टामा बाग्लुङको गल्कोटमा दुई सय २८ मिलिमिटर पानी परेको छ ।
ठूलो पानी परेका ठाउँका नदी, खोलाहरूमा बाढी आएको छ । विशेषगरी नारायणी र गण्डकी नदी जलाधार क्षेत्रका खोलानालामा पानीको सतह बढेको छ । पानी परेसँगै बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया