कपिलवस्तु १ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। ५ र ८ पोषणमैत्री वडा घोषणा भएका छन् । आईतबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा यी दुई वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्यले वडा नं।५ का अध्यक्ष दुनिका भुसाल र ८ का अध्यक्ष बाबुराम अर्याललाई सम्मानसहित पोषणमैत्री वडा भएको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सो क्रममा यी दुई वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आचार्यले वडाको लगातारको मेहनत्त र पालिकाको अथक प्रयासले वडा तथा स्वास्थ्य संस्थाहरु पोषणमैत्री बन्न सफल भएको बताए । चार दर्जन बढी सुचकहरु पुरा गर्दै वडा पोषणमैत्री वडा बनेको उनले बताए । उनले यो अवधिमा पटकपटक आफु वडाहरुमा पुगेर अनुगमन गरेको स्मरण गरे । पोषणमैत्री वडा घोषणा भएसंगै वडासंगै नगरपालिकामाथि थप जिम्मेवार आएको बताए । उनले यसलाई निरन्तरता दिन गाह्रो रहेको बताए । उनले बाणगंगालाई वातावरणमैत्री पालिका घोषणा गर्ने दिशातर्फ अघि बढ्न आग्रह गर्दै त्यसका लागी आफ्नो तर्फबाट गर्न सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाले अहिलेको बजेटबाट सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुरु गरेको बताए । उनले विगतका बर्षहरुमा भौतिक पुर्वाधार निर्माण ठूलो धनराशी खर्च गरेको स्मरण गर्दै सामाजिक विकास विना समाज समृद्ध हुन नसक्ने दाबी गरे । उनले बाणगंगा नगरपालिकाका कामकारबाहीलाई हेरेर अन्य पालिकाहरुमा योजना निर्माण हुने गरेको जिकीर गरे । उनले एकैपटक पालिकालाई नै पोषणमैत्री पालिका घोषणा गर्न सम्भव नदेखिएकाले क्रमश वडाहरु हुदैं पालिकालाई घोषणा गर्ने योजना रहेको सुनाए । उनले आर्थिक बर्ष २०८१/८२ मा कम्तिमा ३ वटा वडालाई पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित अघि बढेको सुनाए ।नगर उपप्रमुख रिता कुमारी चौधरीले कपिलवस्तुमै पहिलो पटक बाणगंगाका दुई वडा पोषणमैत्री वडा घोषणा हुनु गर्वको विषय भएको बताईन् ।
उनले यसलाई दिर्घकालीन रुपमा लैजान थप चुनौति थपिएको बताईन् ।प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले जिल्लाकै अग्रणी पालिकाका रुपमा बाणगंगा रहेकाले यस पालिकाले हासिल गर्ने हरेक उपलब्धिले अन्य पालिकाहरुमा समेत सकारात्मक सन्देश प्रवाह हुने बताए । विगतमा बाणगंगाले स्वास्थ्यका क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेको स्मरण गर्दै उनले आजदेखि थप जिम्मेवारी बोध भएको बताए ।यस्तै आईतबार सोही कार्यक्रममा नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को बार्षिक समिक्षा समेत गरिएको थियो । सो क्रममा हरेक शाखाबाट शाखा प्रमुखले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया