प्रदेश

भैरहवा र नेपालगन्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न असफल



बुटवल, ०४ साउन । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोडमात्र सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा यो भन्सार कार्यालयले ७६ अर्ब ८९ करोडमात्रै सङ्कलन गरेको थियो । तर अघिल्लो वर्षको तुलनामा २०८०/८१ मा ३ अर्ब ६ करोड कम राजस्व उठेको भैरहवा भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताए ।

नेपालगन्ज भन्सार कार्यालयको अवस्था पनि उस्तै छ । नेपालगन्ज भन्सार कार्यालयलाई विभागले २८ अर्ब ६६ करोड लक्ष्य दिएकोमा १८ अर्ब १५ करोड राजस्व असुली गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

गत वर्ष २९ अर्ब लक्ष्य रहेकोमा १८ अर्ब १९ करोड राजस्व असुल गरेको थियो । यो भन्सार कार्यालयले भने गत वर्षको तुलनामा ३ करोड कम राजस्व सङ्कलन गरेको छ ।

खासगरी भैरहवा र नेपालगन्जमा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी मोटरसाइकल आयातमा कमी भएको छ । नेपालगन्ज भन्सार कार्यालय सूचना अधिकारी लम्सालले नेपालगन्ज भन्सार कार्यालयबाट खाद्यान्न आयातमा पनि कमी आएको बताए । धेरै बस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उनको भनाइ छ ।

भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडीमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताए । उनले राजस्व घट्यो भनेर चिन्तामात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६