ब्रेकिंग न्युज

एमाले नेतृत्वमा लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै : एमालेवाट गिरी की आचार्य ?




कपिलवस्तु ७ साउन । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । एमाले–कांग्रेसको सत्ता गठबन्धन बनेसँगै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि आइतबार राती नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।मुख्यमन्त्री महराले आइतबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री महराले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुलाएका हुन् ।सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुने भएको छ । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन् ।कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो चरणमै सरकारलाई पूर्णता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।लुम्बिनीमा कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बताएका छन् । उनले भने, ‘दलको नेता स्वयम हुँदाहुँदै बैठक बसेर निर्णय गरिरहनुपर्दैन । एमालेको तर्फबाट मुख्यमन्त्रीमा दल नेता नै मुख्यमन्त्रीको उम्मेदवार हो ।’
तर, एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले पार्टी केन्द्रको निर्णय केही नआएकाले एमालेबाट नेतृत्वको टुंगो नलागेको बताएका छन् । राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्पसहित नयाँ सरकार बन्ने एमाले संसदीय दलका नेता लीला गिरीको भनाइ छ ।
८७ सदस्यीय प्रदेशसभा रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज छ । प्रदेश गठन भएदेखि सधैँ सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलोपटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ ।लुम्बिनीमा १० दलमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै दल नयाँ गठबन्धनमा रहने बताइसकेका छन् ।

प्रकाशित : ७ श्रावण २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६