प्रदेश

सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको डेढ वर्षमा पन्ध्र प्रतिशत काम




कपिलवस्तु, १२ साउन ।
सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको काम १५ प्रतिशत सकिएको छ । डेढ वर्षअघिदेखि सुरु भएको सुरुङ निर्माणको काम अपेक्षा अनुरूप गतिमा अगाडि बढ्न सकेको छैन ।


सुरुङमार्गको डिजाइन र बाहिरी तयारीमा भएको ढिलाइले डेढ वर्षको अवधिमा १५ प्रतिशत काम सकिएको भनाइ निर्माण आयोजनाको छ । सुरुको एक वर्षमा सुरुङमार्गको कामले खासै गति लिन सकेको थिएन ।


पछिल्लो छ महिनायता भने सुरुङ निर्माणले गति लिएको छ । डेढ वर्षको अवधिमा सुरुङमार्गको १५ प्रतिशत मात्रै काम सकिएको निर्माण आयोजना पक्षले जनाएको छ । पाँच वर्षको अवधिमा कुल एक हजार १२६ मिटर सुरुङ खन्नुपर्ने योजना छ ।
हालसम्म ३१६ मिटर सुरुङ खनेर सकिएको जनाएको छ । सुरुङमार्गको उत्तरतर्फबाट १४२ मिटर र दक्षिणतर्फबाट १७४ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो ।


यस सुरुङमार्गमा तीन वटा आपत्कालीन बाइपास सुरुङ रहने छन् । जसमध्ये पहिलो बाइपास १५१ मिटर खन्नुपर्नेमा हालसम्म ६८ मिटर खनेर सकिएको उहाँले बताउनुभयो ।


यस्तै १६१ मिटर लामो अर्को बाइपासको हालसम्म ६४ मिटर र तेस्रो बाइपासको १३० मिटर लामो खन्नुपर्नेमा ६२ मिटर खनिएको छ । माथिबाट खस्न सक्ने पहिरो रोक्न ‘रक सेड’ को काम पनि भइरहेको छ ।


सिद्धार्थ राजमार्गको अत्यन्त जोखिमयुक्त क्षेत्रमा सुरुङमार्ग बनाउन र अन्य जोखिमयुक्त भागमा बाटो चौडा र ‘रक सेड’ को काम गर्ने योजना छ । सो क्षेत्रमा पनि धमाधम काम भइरहेको छ । राजमार्गमा पहिरो रोक्ने गरी ‘रक सेड’ निर्माणको काम पनि भइरहेको निर्माण आयोजना कार्यालयका प्रमुख रामपुकार जैसवालले बताउनुभयो ।


उहाँका अनुसार प्रोटेक्सनतर्फ दक्षिणतर्फ पोर्टलमा २३ सय वर्गमिटर काम गर्नुपर्नेमा एक हजार ४९५ वर्गमिटरको काम सम्पन्न भइसकेको छ । उत्तरतर्फ ११ सय वर्गमिटर काम गर्नुपर्नेमा ४९५ वर्गमिटर काम भइसकेको जैसवालले बताउनुभयो ।


यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सिएससिइसी) ले गरिरहेको छ । सुरुङमार्गसहित बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुने छ ।


आयोजनासँगको सम्झौता अनुसार सात अर्ब ३४ करोड २१ लाख रुपियाँ लाागत लाग्ने अनुमान गरिएको छ । आयोजनामा सुरुङमार्ग निर्माणमा छिट्टै ‘ब्रेक थ्रु’ हुने भए पनि अन्य संरचना बनाउन थप समय लाग्ने बताइएको छ । सुरुङमार्ग बनेपछि यो सडक भएर यात्रा गर्ने यात्रुले पहिरो र ढुङ्गा खस्ने जोखिमपूर्णबाट मुक्त हुने अपेक्षा गरेका छन् ।

प्रकाशित : १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६