काठमाडौं, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराईरमधेस द्रूतमार्ग आधुनिक विकासको नमुना सावित हुने बताउनुभएको छ ।नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गर्नुभयो ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ आज ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विगतमा जुन रफ्तारमा विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । अब विकासको नमुनाका रुपमा यो द्रूतमार्ग बन्नेछ । यस मार्ग अघि बढाउने सन्दर्भमा देखिएका राजनीतिक र आर्थिक बाधा ब्यवधानलाई समाधान गर्न सरकार तत्पर छ ।’
उहाँले नेपालमा केही भएन भन्ने भाष्य खडा गर्न खोजिए पनि दू्रतमार्गको सुरुङ निर्माणले त्यसलाई खण्डन गरेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूूरा होस् भन्ने दृष्टिकोणले सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । डिजिटल नेपाल फ्रेमवर्कबमोजिम अप्टिकल फाइबर, फोरजी इन्टरनेटलगायतका सेवा सबै जिल्लामा पुर्याउने काम अघि बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीले द्रूतमार्गलगायतका पूर्वाधार विकासले यस्ता कार्यक्रमलाई सहयोग मिल्ने बताउनुभयो ।द्रूतमार्ग विसं २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएकाले समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायकालाई निर्देशन दिनुभयो ।








प्रतिक्रिया