प्रदेश

घोराहीमा धानको पैसाका लागि प्रहरी गुहार्दै किसान



घोराही, २४ साउन । दाङको घोराही उपमहानगरपालिका–७, सौडियार निवासी सगुनलाल चौधरीले गएको मङ्सिर महिनामा ५१ क्विन्टल धान बिक्री गर्नुभयो । सगुनलालसँग धान खरिद गर्नुभएका घोराही उपमहानगरपालिका–४ निवासी व्यवसायी लाले सुनारले माघ महिनामा पैसा दिने सहमति थियो । त्यही सहमति अनुसार गाउँमा तीन हजार रुपियाँ क्विन्टल धान बिक्री भइरहेका बेला सुगनलालले तीन हजार एक सय रुपियाँका दरले एक लाख ६१ हजार ८४० रुपियाँको धान बिक्री गर्नुभएको थियो । सहमति अनुसार माघमा पैसा दिने भनिए पनि चौधरीले अझै पैसा पाउनुभएको छैन । पैसा माग्दा सुरुमा भोलि भोलि भन्दै टारेका व्यवसायी सुनारले पछिल्लो समय फोन नै उठाउन छोडेको किसान चौधरी बताउनुहुन्छ ।

“राम्रो व्यापारी होला भनेर उधारोमा धान दिएको मान्छे ठग रहेछ,” किसान चौधरीले भन्नुभयो, “बर्खाभरि खेती गरेर उत्पादन गरेको धान घरखर्चका लागि दुई पैसा होला भनेर बेचेका थियौँ तर मान्छे ठग रहेछ । हुन्छ हुन्छ भन्दाभन्दै सातरआठ महिना बिताइसक्यो पैसा दिँदैन, अहिले त भागेको छ ।’’

व्यवसायीबाट ठगिएपछि ६० वर्षीय चौधरी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय त कहिले व्यवसायीको घरमा धाउन थालेको छ महिनाभन्दा बढी भइसकेको बताउनुहुन्छ । चौधरीले भन्नुभयो, “पैसाका लागि जिल्ला प्रहरी कार्यालयलाई भन्यौँ, जिल्ला प्रशासन कार्यालयमा निवेदन दियौँ तर मान्छे पक्राउ परेको छैन ।” धान खरिद गर्दा घरमै जाने सुनार भने अहिले भेटिने गरेका छैनन् ।

सगुनलाल जस्तै घोराही उपमहानगरपालिका–७, सौडियारकै इन्द्र चौधरीले पनि गएको पुसमा १४ क्विन्टल धान बिक्री गर्नुभयो । १४ क्विन्टल धान बिक्री गर्नुभएका उहाँले प्रतिक्विन्टल तीन हजार १५० का दरले माघ महिनामा ४६ हजार दुई सय रुपियाँ पाउने सहमति थियो । त्यही सहमति अनुसार धान दिनुभएको थियो तर चौधरीले अहिलेसम्म पैसा पाउनुभएको छैन । जसले गर्दा जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालय त कहिले सुनारको घर धाउँदाधाउँदै छ महिना बितिसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पैसाका लागि घोराहीमा रहेको प्रभु बैङ्कको चेक नै दिएपछि विश्वास गरेर धान उधारोमा दियौँ  । ऊ ठग रहेछ, बैङ्कमा जाँदा पैसा छैन ।” दिन्छु भन्दाभन्दै छ महिना बिताएको उहाँको गुनासो छ । उहाँका अनुसार सौडियार र डबरीगाउँका ३० जना किसानको १६ लाख ३३ हजार ९५५ रुपियाँ दिनुपर्ने छ ।

धान लगेका लालेले माघ महिनामा दिनुपर्ने पैसा नदिएपछि ठगीमा परेका किसानले २०८१ वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा ब्याजसहितको रकम दाबी गर्दै निवेदन दिए । २०८१ जेठको १ गते दुवै पक्षबिच छलफल भयो र जेठको २५ गतेभित्र रकम दिइसक्ने सहमति भयो तर उक्त सहमति अनुसार पैसा नदिएपछि किसान पुनः जिल्ला प्रशासन कार्यालय गएपछि अहिले प्रशासनले जिल्ला प्रहरी कार्यालयमा पठाएको किसान बताउँछन् । पैसाका लागि दिनहुँ कहिले जिल्ला प्रहरी कार्यालय त कहिले धान लाने लाले सुनारको घर धाउने गरे पनि पैसा पाउन नसकेको डबरीगाउँ निवासी किसान अनुष्का चौधरी बताउनुहुन्छ । धान खरिद गर्ने व्यापारीबाट ठगिएपछि पैसाका लागि प्रहरी कार्यालयदेखि स्थानीय तहसम्म गए पनि कतैबाट न्याय पाउन नसकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “वर्षभरि दुःख गरेर उत्पादन गरेको अन्न घरखर्चका लागि दुईरचार पैसा होला भनेर बिक्री गरेका थियौँ, ठग व्यापारी परेकाले पैसा नदिएर दुःख दिएको छ ।” जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले भने किसानलाई पैसा ठगी गरेर भाग्नेलाई प्रहरीले खोजी गरेर न्याय दिने बताउनुभएको छ ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६