देश

कुलमान घिसिङले भने– प्राधिकरणको ८२ अर्ब नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन



काठमाडौँ, २५ साउन । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा नजोडिएको प्रस्ट पारेका छन् । दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दुःख लागेको बताए ।

‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ’ घिसिङले भने, ‘तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’

धेरै ठाउँमा विद्युत् प्राधिकरणले फर्जी नाफा देखायो, डेडिकेटेड र ट्रंक लाइनको बिललाई जोडेर देखाइयो भनेकोमा दुःख व्यक्त गर्दै कार्यकारी निर्देशक घिसिङले यसो नभएको दोहोर्‍याए । तथापि, डेडिकेटेड र ट्रंक लाइनकोे केही बिलको अंश परेपनि अरु नाफा व्यवसाय विस्तारबाटै भएको उनले दाबी गरे ।

‘यो सबै हिसाब महालेखा परीक्षकले गरेको अडिटबाट आएको हो । यसलाई कसरी गलत भन्ने ?’ घिसिङले भने । गएका वर्षमा तीन तीन पटक गरी विद्युत् महसुल २५ प्रतिशतले घटाइए पनि प्राधिकरणको नाफा बढेको उनको भनाइ छ ।

प्राधिकरणको ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँमा नै विद्युत् उपलब्ध गराइएको, सिँचाइमा प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध गराइएको र खानेपानी लिफ्टिङ डिमान्डमा विद्युत् निःशुल्क र सहुलियत गरिएको घिसिङले बताए । यसैगरी विद्युतीय सवारीको प्रयोगका लागि प्रोत्साहन गर्नेगरी विद्युतीय सवारी चार्जिङ शुल्कमा समेत सहुलियत दिएको उनले बताए ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६